युरोपमा बढ्दै ‘मौन हत्यारा’

युरोपमा बढ्दै ‘मौन हत्यारा’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – युरोपमा गर्मी सुरु भएसँगै देखापरेको अभूतपूर्व उष्णलहरका कारण हजारौँ मानिसको मृत्युु भएको छ ।

अत्यधिक गर्मीको अवस्था पूर्वतर्फ सर्दै गर्दा युृरोप महादेशभरि विश्व तापक्रमका रेकर्डहरू तोडिएका छन्।

जर्मनी, पोल्यान्ड र चेक रिपब्लिकसहितका देशहरूमा तापक्रम वृद्धिले थुप्रैको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ ।

सामाजिक सञ्जाल एक्समा लेख्दै डब्ल्यूएचओका प्रमुख टेड्रस एडहानम गेहब्रेयससले जुन २१ तारिखयता करिब १३ सयभन्दा बढी मानिसको अत्यधिक गर्मीले मृत्यु भएको बताएका छन् । प्रमुखले गेहब्रेयससले अत्यधिक गर्मीले मानिसहरूको ज्यान जाने हुँदा त्यसलाई ‘मौन हत्यारा’ पनि भन्ने गरिएको जनाएका छन् ।

युरोपका घरह, कार्यालय तथा स्कूलहरू यस प्रकारको चर्को गर्मी झेल्न सक्ने गरी नबनाइएको पनि उनले बताएका छन् । आइतवार फ्रान्सको स्वास्थ्य मन्त्रालयले बुधवारयता देशभरिमा १ हजार अतिरिक्त मृत्यु भएको उल्लेख गरेको छ ।

कतिपय यस्ता घटना ६५ वर्षभन्दा माथि उमेरका मानिसहरूमा भएको छ । साथै घरभित्रै हुने मृत्युहरूको सङ्ख्या पनि ४० प्रतिशतले बढ्ता देखिएको मन्त्रालयले जनाएको छ ।

विश्वमै युरोप एकदम द्रुत गतिले तातिरहेको महादेश हो। संसारको औसत तापमान वृद्धिभन्दा यहाँ दोबर दरले तापमान बढिरहेको छ ।

युरोपका दशौँ लाख मानिसहरू हाल अत्यधिक गर्मीमा बाँचिरहेका छन् । आइतवार जर्मनीले लगातार तेस्रो दिन हालसम्मकै तातो दिन बेहोर्‍यो जब त्यहाँको पूर्वी इलाकामा अधिकतम तापक्रम ४१.७ डिग्री सेल्सियस पुग्यो। चेक रिपब्लिकमा दुई दिनमा दोस्रो पटक तापक्रमको रेकर्ड तोड्दै तापक्रम ४१.७ डिग्री सेल्सियस पुग्यो।

त्यहाँको मौसम निकाय सीएचएमआईका अनुसार आइतवार उच्च विन्दुमा तापक्रम पुगेपछि पश्चिमी इलाकाहरूमा हावाहुरीको प्रक्षेपण गरिएको छ।

पोल्यान्डले पनि हालसम्मकै रेकर्ड तोडेको त्यहाँको मौसमसम्बन्धी निकायले एएफपी समाचार संस्थालाई जनाएको छ। आइतवार त्यहाँको नगर स्लुबिसमा ४०.५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो।

डब्ल्यूएचओका प्रमुखले युरोपमा संसारको औसतभन्दा दोबर दरले तापक्रम बढिरहेको भन्दै त्यसका निम्ति जलवायु परिवर्तन जिम्मेवार रहेको बताए।

‘जलवायु परिवर्तन तथा विश्वव्यापी तापमान वृद्धिका असरले गर्दा कैयन् वर्षहरूमा एकाधपटक देखापर्ने स्तरका तापलहर अचेल वर्षैपिच्छे देखा परिरहेका छन्’, उनले भने।

उनले युरोपेली देशहरूलाई स्वास्थ्य रक्षाका निम्ति तापसँग जुझ्ने स्वास्थ्य कार्ययोजना लागु गर्न सुझाव दिएका छन्। युरोपेली अधिकारीहरूले गर्मीसँग सम्बन्धित रोग निवारणका लागि कडा कदमहरू चालिरहेका छन्। गत बिहीवार नेदर्ल्यान्ड्समा चर्को गर्मीका कारण पूर्वनिर्धारित सङ्गीत समारोह रद्द गरियो।

प्यारिसमा सार्वजनिक स्थलमा मदिरा पान गर्न रोक लगाइएको छ भने निर्धारित प्राइड मार्च रद्द गरिएको छ । गर्मी बढेयता फ्रान्समा कम्तीमा ७४ जना मानिसहरूको डुबेर पनि मृत्यु भएको छ ।

जुन महिनामा देखिएको रेकर्ड भङ्ग गरेका यस्ता तापलाई ‘हिट डोम’ भनिन्नछ । यस्तो मौसम प्रणालीमा हावा जमिनको सतह नजिक ओर्लन्छ र त्यसो गर्दा झन् झन् खाँदिँदै अनि तातिँदै जान्छ।

त्यस्तो हावामा पानीका कण कम हुन्छन् जसकारण बादल बन्दैनन्। फलस्वरूप चर्को घामले वातावरण झन् तातिन्छ।