आधुनिक रोपाईँ : ‘ड्रोन’ले छर्‍यो मल, मेसिनले राेप्याे धान

आधुनिक रोपाईँ : ‘ड्रोन’ले छर्‍यो मल, मेसिनले राेप्याे धान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– ‘ड्रोन’मार्फत मल छरेर ‘मेसिन’मार्फत धान रोप्दै राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ मनाइएको छ ।

प्रतिनिधिसभा, कृषि तथा प्राकृतिक स्रोत समितिका संयोजक अशोककुमार चौधरीले धान रोप्ने खेतमा मल छर्नका लागि ड्रोन उठाएर महोत्सवको शुभारम्भ गरेका हुन् ।

‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र र बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रद्वारा आज ललितपुरको खुमलटारमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ आयोजना गरिएको हो ।

सो अवसरमा उनले खाद्यान्नमा देशलाई आत्मनिर्भर बनाउन वर्तमान सरकार अगाडि बढिरहेको छ भन्ने धारणा राखेका छन् ।

राष्ट्रिय योजना आयोगका सदस्य डा देवेन्द्र गौचनले नीतिगत व्यवस्थामा राम्रो भएको भए पनि संरचनागत सुधारमा जोड दिनुपर्ने धारणा राख्दै किसान र कृषि अनुसन्धान परिषद्बीचको समन्वय र सम्पर्कलाई जोड दिँदै जलवायु अनुकूलन पोषणयुक्त धानको उत्पादनका लागि ध्यान दिनुपर्ने बताए ।

उनले अन्तरराष्ट्रियस्तरमा पोषणयुक्त चिउराको माग बढ्दै गएकाले यसका लागि राज्य र निजी क्षेत्र मिलेर नवप्रवर्तनको माध्यमबाट अगाडि बढ्नुपर्नेमा ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डाक्टर राजेन्द्रप्रसाद मिश्र,कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेल, नेपाल कृषि अनुसन्धान परिषद्का कायममुकायम निर्देशक डाक्टर श्रीमत श्रेष्ठ, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटा, नेपाल कृषि अनुसन्धान परिषद्को बाली तथा वागवानी निर्देशक डाक्टर टेक गोतामेले आ–आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा उत्कृष्ट चैते धान उत्पादक, रैथाने धानको संरक्षण र प्रवद्र्धन गर्ने संस्था, धानबालीको जातीय प्रवद्र्धनमा योगदान गर्ने वैज्ञानिक, धानको मूल्य शृङ्खलामा काम गर्ने मिल, धानको मूल्य शृङ्खलामा काम गर्ने जोन, सामुदायिक धान नर्सरी र उत्कृष्ट कृषि पत्रकारलाई सम्मान गरिएको थियो ।