ठेकेदारको लापरवाहीले २० करोडको अस्पताल भवन निर्माण अलपत्र

ठेकेदारको लापरवाहीले २० करोडको अस्पताल भवन निर्माण अलपत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ –  ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुङ्गा गाउँपालिका– ५ चिसापानी बजारमा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल भवन अलपत्र परेको छ ।

ठेकेदार कम्पनी ड्रागन–रियर जेभी र गाँउपालिकाबिच विक्रम संवत् २०७८ असार २५ गते ठेक्का सम्झौता भएको थियो ।

कम्पनीले २०७९ असार २८ गते भवन निर्माण सम्पन्न गरी पालिकालाई हस्तान्तरण गरिसक्नुपर्ने व्यहोरा सम्झौतामा उल्लेख छ । 

कूल २० करोड ७१ हजार ५९० रुपैयाँमा निर्माण सम्पन्न हुने अस्पताल भवनको काम ३३ प्रतिशत मात्र सम्पन्न भएको गाउँपालिकाका सूचना अधिकारी विनय निरौलाले जानकारी दिए ।  तोकिएको समयमा काम सम्पन्न नभएपछि ५ पटकसम्म म्याद थप गरिएको थियो । हालसम्म कम्पनीले ६ करोड ४९ लाख ६ हजार रकम भुक्तानी बुझिसकेको गाउँपालिकाले जनाएको छ ।

पर्याप्त बजेट र उपयुक्त वातावरण सिर्जना गर्दा समेत ठेकेदार कम्पनीले अस्पताल भवनको काम नगरेको गाउँपालिकाका उपप्रमुख एवं अनुगमन समिति संयोजक खेमबहादुर खड्काले जानकारी दिए ।

‘ठेकेदार कम्पनीलाई पटक–पटक ताकेता गरिरहेका छौँ । पछिल्लोपटक थपिएको म्यादमा काम सम्पन्न भएन,’ उनले भने, ‘अस्पताल भवन निर्माणका लागि पालिकाबाट उपलब्ध रकम ठेकेदार कम्पनीले भुक्तानी लान सकेन । अब के गर्ने भन्ने विषयमा कार्यपालिका बैठक बसेर निर्णय गर्ने तयारीमा छौँ ।’

चिसापानी बजारमा आधारभूत अस्पात भवन निर्माणका लागि स्थानीयले ५ रोपनी जग्गा नि:शुल्क उपलब्ध गराएका थिए । 

विस्तृत परियोजना रिपोर्ट (डीपीआर) परिवर्तनमा समय लाग्नु, पर्याप्त बजेट नहुनु र फोक्सिङटारमा पुल नहुनुले आधारभूत अस्पताल भवन निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनीका प्रतिनिधि ङ्वाङ डण्डुप लामाले बताए ।