काठमाण्डु– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले पछिल्लो समय सांसहरुको गुणस्तर खस्किएको टिप्पणी गरेकी छन् ।
६८औं संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा उनले आफ्नो मर्यादा कायम राख्ने काम सांसद् स्वयंको भएको बताइन् ।
संसदको गुणस्तर खस्किएको भन्ने जनगुनासोबारे आत्मसमीक्षा गर्नुपर्ने उनको भनाइ थियो । जनताको करबाट सेवा सुविधा लिने सांसद्को मुख्य भूमिका कानून बनाउनु भएकाले त्यसबाट बरालिन नहुने गौतमले बताइन् ।
‘संसदको गुणस्तर पहिलाजस्तो छैन भन्ने जनगुनासोबारे आत्मसमीक्षा हुनुपर्छ । अनौपचारिक रूपमा गफ गर्ने बेला पनि सुनिन्छ, पहिलाको संसद्को तुलनामा अहिलेको संसदको गुणस्तर धेरै खस्किएको छ’, गौतमले भनिन्, ‘आखिर किन गुणस्तर खस्किँदै गएको छ भन्ने प्रश्नमा हामी आफैँले मनन गर्नुपर्छ ।’
सर्वोच्च जनप्रतिनिधिमुलक थलो संसद्को गरिमा राख्न सांसदहरूका बोली, व्यवहार, आचरण, भाषा र पोशाकजस्ता विषयमा सुधार हुनुपर्ने उनले उल्लेख गरिन् । संसदको गरिमा र मर्यादा बचाउन आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता उनको थियो ।




प्रतिक्रिया