काठमाण्डु– सभामुख डोलप्रसाद अर्यालले अघिल्लो पुस्ताको अनुभवलाई अनादर गरेर अघि बढ्न नसकिने बताएका छन् ।
६८औं संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा अर्यालले अग्रजलाई अपमान गरेर देश नबन्ने बताएका हुन् ।
अघिल्लो पुस्ताले देशमा लोकतान्त्रिक अभ्यास गर्ने र उच्चस्तरको राजनीति गर्ने अवसर प्रदान गरेकाले उनीहरुको सम्मान गर्नुपर्ने उनको भनाइ थियो ।
‘अघिल्लो पुस्ताले हामीलाई यो देशमा लोकतान्त्रिक अभ्यास गर्ने र उच्चस्तरको राजनीति गर्ने अवसर प्रदान गर्नुभएको हो,’ अर्यालले भने, ‘हामीले उहाँहरूको सम्मान गर्नुपर्छ र उहाँहरूको अनुभवबाट सिक्नुपर्छ ।’
अग्रज पुस्ताको अनुभव र नयाँ पुस्ताको प्रविधिमैत्री ज्ञानलाई एकीकृत गरेर तीव्र गतिमा मुलुकलाई विकासको मार्गमा हिँडाउनुपर्ने उनको भनाइ थियो ।
अर्यालले मुलुकको विकास, सुशासन र भ्रष्टाचार अन्त्यका लागि कार्यपालिका, व्यपस्थापिका र न्यायपालिकाबीच कार्यगत एकता र सहकार्य हुनुपर्नेमा जोड दिए ।
देश बनाउन सरकार, संसद् र न्यायपालिकाको गति र भावना मिल्नुपर्ने उनको बुझाइ छ ।
तीन निकायबीच सहकार्य गर्दा संविधानको पालना र कानुनी राज्यको अवधारणामा भने सम्झौता गर्न नहुनेमा उनले जोड दिए ।
फरक प्रसंगमा उनले रोजगारीको सिलसिलामा विभिन्न देश पुगेका नेपालीलाई स्वदेश फर्कन प्रेरित गर्नुपर्ने बताए ।
देशलाई बस्न लायक बनाउन संसारभर छरिएका नेपाली स्वदेश फर्किनुपर्ने उल्लेख गरे ।




प्रतिक्रिया