काठमाण्डु-कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले संसदलाई प्रभावकारी र उपलब्धिमूलक बनाउन जनताका मुद्दालाई केन्द्रमा राखेर बहस गर्न सांसदहरूलाई आग्रह गरेकी छन् ।
मंगलबार ६८ औं संसद दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा उक्त कुरा बताएकी हुन् ।
मन्त्री गौतमले प्रक्रियागत विषयहरू कार्यव्यवस्था, अन्य औपचारिक तथा अनौपचारिक छलफलबाट टुंग्याउन सकिने हुँदा सदनमा जनताका विषयमा केन्द्रित हुनुपर्नेमा जोड दिइन् ।
‘जनताले हामीलाई संसद्मा आफ्नो आवाज उठाउन पठाउनुभएको हो भन्ने विश्वास गर्नुभएको हुन्छ। त्यसैले हामीले पाएको एक मिनेट समय पनि जनताका मुद्दामाथि बहस गर्नमै केन्द्रित गरौं,’ उनले भनिन् ।
उनले शिक्षा, स्वास्थ्य सेवा, सेवा प्रवाह तथा जनजीविकासँग सम्बन्धित विषयमा व्यापक छलफल गरी सरकारलाई जवाफदेही बनाउनुपर्नेमा जोड दिइन् । ती बहसले संसदको औचित्य पुष्टि गर्नुका साथै संसदप्रति जनविश्वाससमेत बढाउने उनको भनाइ थियो ।
मन्त्री गौतमले पछिल्लो समय संसदको गुणस्तर खस्किएको भन्ने धारणा सार्वजनिक रूपमा उठिरहेको समेत उल्लेख गरिन् । र त्यसको कारणबारे सांसदहरूले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता रहेको औंल्याइन् ।
उनले संसदमा प्रयोग हुने भाषा, शब्द चयन, व्यवहार र पहिरनसम्म मर्यादित हुनुपर्ने बताउँदै उनले संसदको गरिमा सांसदहरूको आचरणबाटै कायम हुने बताइन् ।
‘हामीले संसद्मा बोल्ने भाषा, उच्चारण गर्ने शब्द, र संसद्मा आउँदा लगाउने पोसाकदेखि लिएर हरेक कुरामा मर्यादित हुनुपर्छ । यदि हामी संसदको मान राख्छौं भने, त्यो मर्यादा हामीले आफ्नै व्यवहारबाट कायम गर्नुपर्छ,’ उनले भनिन्, ‘त्यसो गर्न सक्यौं भने संसद मर्यादित छ र संसद्को गरिमा उच्च छ भन्ने कुरा स्वतः पुष्टि हुन्छ ।’
संसदको मर्यादा र गरिमा कायम राख्न आफूले आचरणमा कुनै कमजोरी आउन नदिने प्रतिबद्धता समेत व्यक्त गरिन् ।




प्रतिक्रिया