चेम्बर अफ कमर्स र बृहतप्रेन्योर्सबिच उद्यमशीलता प्रवर्द्धनमा सहकार्य

चेम्बर अफ कमर्स र बृहतप्रेन्योर्सबिच उद्यमशीलता प्रवर्द्धनमा सहकार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल चेम्बर अफ कमर्स र बृहत ग्रूपको उद्यमशीलता तथा भेन्चर विकास पहल बृहतप्रेन्योर्स प्रालिबिच उद्यमशीलता विकास, नवप्रवर्तन, व्यवसाय विस्तार तथा लगानी प्रवर्द्धनका लागि २ वर्षे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्सको भौतिक पूर्वाधार तथा भूमि सुधार समितिका सभापति रोशन भोयाद्यो तथा बृहतप्रेन्योर्सका संस्थापक एवं बृहत ग्रूपका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डेडेन लामा राजभण्डारीले हस्ताक्षर गरे ।

सम्झौताअनुसार दुवै संस्थाले देशभर उद्यमशीलता प्रवर्द्धन, स्टार्टअप तथा नवउद्यमको विकास, व्यवसायिक सञ्जाल विस्तार, मेन्टोरशिप, क्षमता अभिवृद्धि तथा लगानीका अवसर सिर्जना गर्न संयुक्त कार्यक्रम सञ्चालन गर्नेछन् । नेपाल चेम्बर अफ कमर्सले देशका ५ स्थानमा उद्यमी तथा व्यवसायीलाई लक्षित जनचेतना र पहुँच विस्तार कार्यक्रम सञ्चालन गर्नेछ भने नवौं नेपाल ल्यान्ड, हाउजिङ एन्ड कन्स्ट्रक्सन एक्स्पोका अवसरमा विशेष उद्यमशीलता कार्यक्रम पनि आयोजना गरिनेछ ।

बृहतप्रेन्योर्सले सहभागी उद्यमीहरूका लागि अभिमुखीकरण, व्यवसाय विकास तालिम, बिजनेस क्लिनिक, इन्क्युबेसन, मेन्टोरसिप, नेटवर्किङ तथा भेन्चर सपोर्ट कार्यक्रम सञ्चालन गर्नेछ । सदस्यता, साझेदारी, को–वर्किङ सुविधा तथा व्यवसाय विस्तारका अवसर उपलब्ध गराइने जनाइएको छ ।

सम्झौताअनुसार २ वर्षको अवधिमा कम्तीमा ६ वटा उद्यमशीलता तथा नेटवर्किङ कार्यक्रम आयोजना गरी ३०० भन्दा बढी उद्यमी, स्टार्टअप तथा व्यवसायीलाई सहभागी गराउने लक्ष्य राखिएको छ । सम्झौतामा नेपाल चेम्बर अफ कमर्सको युवा समिति समेतको सहकार्य रहने उल्लेख छ ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले यस सहकार्यले उद्यमशीलता विकास, लगानी प्रवर्द्धन तथा निजी क्षेत्रको सशक्तीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले उद्यमी, नवप्रवर्तक, स्टार्टअप र लगानीकर्तालाई एउटै साझा मञ्चमा जोड्ने बृहतप्रेन्योर्सको पहल समयानुकूल रहेको उल्लेख गर्दै निजी क्षेत्रबिचको सहकार्यबाट रोजगारी सिर्जना, नवप्रवर्तन र आर्थिक गतिविधि थप सशक्त बन्ने बताए ।

कार्यक्रममा बृहतप्रेन्योर्सका संस्थापक एवं बृहत ग्रूपका कार्यकारी अध्यक्ष डा. ओम राजभण्डारीले नेपालमा उद्यमशीलताको नयाँ संस्कृतिको विकासका लागि ‘आइडिया मात्र होइन, कार्यान्वयन’मा जोड दिनुपर्ने बताए । राजभण्डारीले बृहतप्रेन्योर्सलाई उद्यमी, विशेषज्ञ, व्यवसाय र लगानीकर्तालाई जोड्ने भेन्चर–बिल्डिङ इकोसिस्टमका रूपमा विकास गरिएको उल्लेख गर्दै सहकार्य, संरचना, मार्गदर्शन र साझा स्रोतमार्फत दिगो तथा विस्तारयोग्य व्यवसाय निर्माणमा संस्थाले योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका युवा समिति सभापति दिपेशरत्न तुलाधर लगायतको उपस्थिति रहेको थियो ।