भूकम्पको ‘टाइम बम’मा भारत

भूकम्पको ‘टाइम बम’मा भारत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- जुन २७मा अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा आएको ६.१ म्याग्निच्यडको शक्तिशाली भूकम्पले एकपटक फेरि दिल्ली र जम्मू–कश्मीरसहित सम्पूर्ण उत्तर भारतलाई हल्लाइदिएको छ ।

यसपटक भारतमा ठूलो क्षति नभए पनि यो धक्काले देशको भूकम्पीय सुरक्षा र तयारीमाथि गम्भीर प्रश्न उठाएको छ ।

आखिर अफगानिस्तानमा आएको भूकम्पको प्रभाव भारतसम्म किन पुग्छ ? भारतको ठूलो भूभाग यस्तो भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्छ, जहाँ जुनसुकै बेला ठूलो विपत्ति आउन सक्छ ।

चार भूकम्पीय क्षेत्रमा विभाजित भारत

भारतीय मानक ब्युरो (बीआईएस) ले भूकम्पीय जोखिमका आधारमा भारतलाई चार वटा सिस्मिक जोनमा विभाजन गरेको छ ।

ती हुन्–जोन–२, जोन–३, जोन–४ र जोन–५ ।

जोन–२ मा भूकम्पको जोखिम सबैभन्दा कम छ । यस क्षेत्रमा कर्नाटक, तमिलनाडु र मध्य प्रदेशका केही भाग पर्छन् । जोन–३ लाई मध्यम जोखिमयुक्त क्षेत्र मानिन्छ । यसमा केरल, गोवा, महाराष्ट्र र ओडिशाजस्ता राज्य समावेश छन् ।

जोन–४ र जोन–५लाई सबैभन्दा बढी जोखिम मानिएको छ । भारतको ठूलो भूभाग उच्च भूकम्पीय जोखिममा पर्छ । जोन–४ (उच्च क्षति जोखिम क्षेत्र) मा भारतको राजधानी दिल्ली, पञ्जाब, हरियाणा, उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल र गुजरातका केही भाग समावेश छन् ।

त्यसपछि आउँछ जोन–५, जुन सबैभन्दा जोखिमयुक्त क्षेत्र हो । यहाँ शक्तिशाली भूकम्प आएमा सबैभन्दा बढी क्षति हुन सक्छ । यस क्षेत्रमा असम, अरुणाचल प्रदेश, मणिपुर, मेघालय, मिजोरम, नागाल्यान्ड, त्रिपुरा, अण्डमान–निकोबार द्वीपसमूह, जम्मू–कश्मीरका केही भाग, लद्दाख, हिमाचल प्रदेश, उत्तराखण्ड तथा गुजरातको कच्छ क्षेत्र पर्छन् ।

भारतको भूमि किन बारम्बार काँप्छ ?

भारतमा बारम्बार भूकम्प आउनुको मुख्य कारण भारतीय टेक्टोनिक प्लेटको निरन्तर गति हो । यो प्लेट उत्तरतर्फ सर्दै युरेसियन प्लेट सँग ठोक्किइरहेको छ । यी दुई प्लेटबीचको टक्करका कारण हिमालय आसपासका भ्रंश (फोल्ट) सक्रिय हुन्छन् । जब चट्टानभित्रको तनाव अत्यधिक बढ्छ, त्यो भूकम्पका रूपमा बाहिर निस्कन्छ ।

यसका अतिरिक्त गुजरातको कच्छ क्षेत्रमा पृथ्वीभित्र हुने भू–तनाव तथा अण्डमान–निकोबार नजिकको सबडक्सन जोन (जहाँ एउटा प्लेट अर्को प्लेटमुनि धसिन्छ) का कारण पनि ती क्षेत्रमा पटक–पटक भूकम्प आउने गर्छ ।

हिन्दुकुशजस्ता पहाडी क्षेत्रमा गहिराइमा शक्तिशाली भूकम्प आउँदा त्यसबाट उत्पन्न तरंगहरू विशाल इन्डो–गंगाको मैदान हुँदै सजिलै दिल्लीसम्म पुग्न सक्छन् ।

हालसम्म वैज्ञानिकहरूले कुनै पनि भूकम्प कुन दिन, कुन समयमा र कति तीव्रतामा आउँछ भनेर ठ्याक्कै भविष्यवाणी गर्न सक्दैनन् । विज्ञानका आफ्नै सीमाहरू छन् ।

तर, कुन क्षेत्रमा भूकम्प आउने सम्भावना बढी छ भन्ने अनुमान भने गर्न सकिन्छ । आधुनिक प्रविधिको सहायताले भूकम्प आउनुभन्दा केही सेकेन्डअघि अर्ली वार्निङ सिस्टम मार्फत चेतावनी जारी गर्न सकिन्छ, जसले केही हदसम्म जनधनको क्षति कम गर्न मद्दत पुर्‍याउँछ ।

के ठूलो भूकम्पको सामना गर्न भारत तयार छ ?

यदि आज भारतमा ठूलो भूकम्प आयो भने अन्तर्राष्ट्रिय मापदण्डअनुसार देशको तयारी अझै पर्याप्त मानिँदैन ।

भारतसँग राष्ट्रिय विपद् उद्धार बल (एनडीआर) जस्तो दक्ष उद्धार टोली त छ, तर पूर्वाधार अझै कमजोर छ । देशमा भूकम्प प्रतिरोधी भवन निर्माणसम्बन्धी आधुनिक मापदण्ड भए पनि तिनको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

धेरै सहरमा इन्जिनियरिङ मापदण्डविनै बनेका पुराना भवन, अत्यधिक जनघनत्व भएका बस्ती तथा सर्वसाधारणमा भूकम्पसम्बन्धी चेतनाको कमीले सम्भावित जोखिमलाई अझ धेरै बढाएको छ ।

Skip This