नाइमा मोबिलिटी एक्स्पोको भोलि अन्तिम दिन, ५ दिनमै डेढ लाखभन्दा बढी अवलोकनकर्ता

नाइमा मोबिलिटी एक्स्पोको भोलि अन्तिम दिन, ५ दिनमै डेढ लाखभन्दा बढी अवलोकनकर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ साउन ३१ गते आईतबार समापन हुँदैछ । तर साउन २६ गतेदेखि ६ दिनका लागि सुरु भएको एक्स्पोको पाँचौँ दिनमै आयोजकले अपेक्षा गरेको अवलोकनकर्ताको लक्ष्य पूरा भएको छ ।

शनिबार मात्रै ४२ हजार जनाले एक्स्पो अवलोकन गरेका छन् । यससँगै ५ दिनमा एक्स्पो अवलोकन गर्नेको संख्या १ लाख ५० हजारभन्दा बढी पुगेको छ ।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ६ दिनमा डेढ लाख जनाले एक्स्पो अवलोकन गर्ने अपेक्षा गरेको थियो । शनिबार अवलोकनकर्ताको भीड अनपेक्षित रूपमा बढेपछि पार्किङ व्यवस्थापनमा समेत कठिनाइ भएको थियो । भृकुटीमण्डपभित्रका खाली स्थान, नेपाल प्रहरी क्लबका २ तला तथा खाद्य गोदाम परिसर लगायतका स्थानमा पार्किङको व्यवस्था गरिए पनि अवलोकनकर्तालाई सहज हुन सकेन ।

पटक–पटक परेको भारी वर्षालाई बेवास्ता गर्दै अवलोकनकर्ता भृकुटीमण्डप पुगेका थिए । काठमाण्डु सुनचाँदी व्यवसायी संघका सचिव लेखरत्न शाक्यले वर्षाले केही समय समस्या पारे पनि एक्स्पोमा अत्यधिक भीड रहेको बताए । उनले एक्स्पोमा आफूले एउटा स्कुटर बूक गरेको जानकारी दिए । उनका साथमा आएका संघका सहसचिव अभिषेक शाक्यले पनि विगतको तुलनामा यसपटक एक्स्पोमा धेरै मानिसको सहभागिता रहेको बताए ।

अटो शो योजना समितिका अध्यक्ष गौरव शारडाले अवलोकनकर्ताको उल्लेख्य सहभागिताले आफूहरू उत्साहित भएको बताए । उनले एक्स्पो सफल बनाउन अन्तिम दिनसम्म कुर्नुपर्ने अवस्था नरहेको र आयोजकले राखेको लक्ष्य पूरा भइसकेको बताए ।

एक्स्पोको उद्घाटनका दिन साउन २६ गते २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका थिए ।

एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका छन् । नयाँ–नयाँ मोडलका सवारीसाधन सार्वजनिक गर्दै विभिन्न वितरक कम्पनीले अवलोकनकर्तालाई आफ्ना स्टलतर्फ आकर्षित गरिरहेका छन् ।

नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले अवलोकनकर्ताको व्यापक उपस्थितिले एक्स्पोलाई सफल बनाएको बताइन् । पारामाउन्ट मोटर्सका प्रबन्ध निर्देशक शिरीषकुमार मुरारकाले पनि ठूलो संख्यामा अवलोकनकर्ता आकर्षित गर्न सक्नु नाइमाको सफलता भएको धारणा व्यक्त गरेका छन् ।

विकल्प धेरै भएकाले एक्स्पोमा पुगेका अवलोकनकर्तालाई आफूले चाहेको सवारीसाधन छनोट गर्न सहज भएको छ । दुईपांग्रे सवारीसाधनमा पनि अवलोकनकर्ताको उल्लेख्य भीड देखिएको छ । विशेषगरी महँगा ब्रान्डका सवारीसाधनमा युवाको आकर्षण देखिएको आयोजकले जनाएको छ ।

अवलोकनकर्ताले एक्स्पोमा आफूले चाहेको क्षमताअनुसारको कार बूक गर्न सहज भएको बताएका छन् । उनीहरूले विशेषगरी ब्याट्री क्षमता, मोटर, रेन्ज, बिक्रीपछिको सेवा, ब्याट्रीको वारेन्टी तथा ग्यारेन्टी र पुन: बिक्री मूल्यलगायत विषयमा चासो राखेका छन् ।

ग्राहक आकर्षित गर्न कम्पनीहरूले विभिन्न सुविधा उपलब्ध गराएका छन् । उनीहरूले मूल्यमा छुट, १ वर्षको बिमा, १ वर्षको सवारी कर, नि:शुल्क सर्भिसिङ तथा न्यून ब्याजदरमा कर्जालगायत सुविधा दिएका छन् ।

एक्स्पोमा हालसम्म विभिन्न ब्रान्डले ५३ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन् । पाँचौँ दिनमा पनि एउटा नयाँ सवारीसाधन सार्वजनिक गरिएको छ । लक्ष्मी ग्रूप अन्तर्गतको लक्ष्मी मोटरहब प्रालिले ‘आर्कफक्स क्रसओभर’ सार्वजनिक गरेको हो ।

शनिबार आयोजित नाइमा मोबिलिटी संवादमा ‘एआई एन्ड अटोमोटिभ टेक्नोलोजी: ड्राइभिङ द फ्युचर अफ मोबिलिटी’ विषयमा छलफल भएको थियो । संवादको सहजीकरण ट्यान्जिबलका प्रमुख कार्यकारी अधिकृत आलोक खत्रीले गरेका थिए ।

छलफलमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका प्रमुख सल्लाहकार सञ्जय पौडेल, वैद्यज अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसेजका निर्देशक सूर्यांश वैद्य, नेपाल एप्लाइड म्याथमेटिक्स एन्ड इन्फर्मेटिक्स इन्स्टिच्युट फर रिसर्चका कार्यकारी निर्देशक सन्ध्या सिटौला तथा टेक्सास कलेज अफ म्यानेजमेन्ट एन्ड आईटीका सूचना प्रविधि निर्देशक डा. सुमन थपलिया सहभागी थिए ।

शुक्रबार ‘टेक्निकल: ब्याट्री रिसाइकल एन्ड इथानोल ब्लेन्डिङ इन फ्युल’ विषयमा छलफल भएको थियो । बिहीबार ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एन्ड इन्स्योरेन्स’ विषयमा छलफल तथा अन्तर्क्रिया गरिएको थियो ।

बुधबारको ‘लर्निङ सेसन’मा ‘मोबिलिटी: हिजो, आज र भोलि’ विषयमा छलफल तथा अन्तर्क्रिया भएको थियो । एक्स्पोको पहिलो दिन ‘इन्भेस्टमेन्ट एन्ड फरेन डाइरेक्ट इन्भेस्टमेन्ट (एफडीआई): मोबिलाइजिङ–फ्युल फर इकोनोमिक ग्रोथ’ विषयमा छलफल भएको थियो ।

एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञहरूको सहभागितामा ‘नाइमा मोबिलिटी संवाद’ सञ्चालन भइरहेको छ ।

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोको दोस्रो संस्करण साउन ३१ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ ।

नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि विभिन्न नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन एक्स्पोका मुख्य आकर्षणका रूपमा रहेका छन् ।

एक्स्पोमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूले सवारीसाधन खरिदका लागि विशेष अफर तथा सहुलियत कर्जा उपलब्ध गराइरहेका छन् । मेलाको सहप्रायोजकमा ग्लोबल आइएमई बैंक लिमिटेड रहेको छ भने रेडबुल मुख्य प्रायोजकका रूपमा रहेको छ । बैंकिङ साझेदारमा एनएमबी बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेड रहेका छन् । बिमा साझेदारमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् ।

प्रविधि साझेदारमा बोस (बीओएससीएच), शिक्षा साझेदारमा ग्लोबल कलेज र एम्बार्क कलेज, चार्जिङ साझेदारमा अग्नि इनर्जी प्रालि र अजायल इन्जिनियरिङ सोलुसन्स प्रालि, राइड साझेदारमा पठाओ नेपाल प्रालि, हाइड्रेसन साझेदारमा अक्वा मिनरल्स (अक्वा हन्ड्रेड) प्रालि, आतिथ्य साझेदारमा द सोल्टी काठमाण्डु, स्वास्थ्य साझेदारमा ग्रान्डी इन्टरनेसनल हस्पिटल, निगरानी साझेदारमा भत्सल इम्पेक्स प्रालि (हिकभिजन) तथा अग्नि सुरक्षा साझेदारमा हिट्को प्रालि रहेका छन् ।

नाइमा मोबिलिटी एक्स्पोको सहटिकटिङ साझेदारमा आईएमई खल्ती लिमिटेड, क्यूआर साझेदारमा युनियन पे, श्रव्यदृश्य साझेदारमा पायोनियर इभेन्ट म्यानेजमेन्ट एन्ड मिडिया नेटवर्क प्रालि, डिजिटल साझेदारमा डिजिपल सोलुसन्स प्रालि, सवारी सुरक्षा साझेदारमा एटीएस नेपाल, व्यवस्थापन साझेदारमा मिडिया स्पेस सोलुसन्स प्रालि, सञ्चार साझेदारमा वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड तथा प्रकाशन साझेदारमा प्रफिट मिडिया प्रालि रहेका छन् ।