काठमाण्डु – चीनको राजधानी बेइजिङमा नेपाल लगानी सम्मेलन हुँदैछ । बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्न लागेको सम्मेलन बिहीबार र शुक्रबारसम्म चल्ने छ ।
सम्मेलनको सहआयोजक अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनका लागि चीन परिषद् छन् । चीनमा अन्तर्राष्ट्रिय व्यापार र आर्थिक सहयोगलाई प्रवर्द्धन गर्ने सरकारको यो एक प्रमुख संस्था हो ।
सम्मेलनमा सहभागी हुन नेपालका विभिन्न क्षेत्रका ३० भन्दा बढी नेपाली लगानीकर्ता बेइजिङ पुगेका छन् । चीनबाट नेपालमा लगानी आह्वान गर्न नेपालबाट ठूलो प्रतिनिधिमण्डल बेइजिङमा उपस्थित भएका हुन् ।
नेपाली दूतावासका आर्थिक कूटनीतिक प्रमुख पार्वती अर्यालका अनुसार लगानी सम्मेलनमा चीनबाट पहिलो दिन ८० कम्पनीका लगानीकर्ता सहभागी हुनेछन् । कार्यक्रम अवधिभर चीनका तर्फबाट अन्तर्राष्ट्रिय वाणिज्य महासंघ, द्विपक्षीय सहयोग विभागका महानिर्देशक सु छ्याङले प्रतिनिधित्व गर्ने तय भएको छ ।
सम्मेलनको दोस्रो दिन शुक्रबार नेपाली दूतावासले ‘चीन संयुक्त–स्टक व्यावसायिक उद्यम आर्थिक महासंघको प्लाटफर्म अर्थतन्त्र विशेष समिति’को सहआयोजनामा कार्यक्रम गर्नेछ । अर्यालका अनुसार सम्मेलनमा चीन र नेपालका करिब दुई सय लगानीकर्ताको उपस्थिति रहनेछ ।




प्रतिक्रिया