सीआईबीको नाम दुरुपयोग गर्दै ठगीको प्रयास, भ्रामक इमेलमा विश्वास नगर्न आग्रह

सीआईबीको नाम दुरुपयोग गर्दै ठगीको प्रयास, भ्रामक इमेलमा विश्वास नगर्न आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आफ्नो नाम र ब्यूरो प्रमुखको नाम दुरुपयोग गरी ठगी गर्ने प्रयास भइरहेको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।

बुधबार जारी गरिएको सूचनामा पछिल्लो समय विभिन्न व्यक्तिलाई अनधिकृत इमेलमार्फत सीआईबीको नाम प्रयोग गरी कानुनी कारबाहीको धम्कीपूर्ण सन्देश पठाइएको विषयमा ब्यूरोको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सीआईबीका अनुसार केही व्यक्तिलाई ‘यदि तपाईंविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरोले कानुनी कारबाही नगर्नुपर्ने हो भने तत्काल जवाफ दिनुहोस्, अन्यथा मुद्दा अदालतमा दर्ता गरिनेछ’ भन्ने आशयका सन्देशहरू पठाइएको पाइएको छ । यस्ता सन्देशहरू ब्यूरो वा ब्यूरो प्रमुखबाट पठाइएका नभएको स्पष्ट पारिएको छ ।

ब्यूरोले आफ्नो नाम प्रयोग गरी पठाइने यस्ता भ्रामक, अफवाहयुक्त तथा ठगीको उद्देश्यले सिर्जित इमेलहरूमा विश्वास नगर्न सबै सरोकारवालालाई अनुरोध गरेको छ । कुनै पनि शंकास्पद इमेल प्राप्त भएमा आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।

सीआईबीले यस प्रकारका गतिविधिबारे अनुसन्धान भइरहेको जानकारी दिँदै साइबर ब्यूरोमार्फत आवश्यक छानबिन अघि बढाइएको जनाएको छ । यस्ता गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने पनि ब्यूरोले चेतावनी दिएको छ ।

सीआईबीले आफ्नो आधिकारिक नाम तथा पदाधिकारीको नाम प्रयोग गरी हुने ठगीका प्रयासबाट सचेत रहन र यस्ता घटनाबारे सम्बन्धित निकायलाई जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरेको छ ।