झापा – नेपालमा पछिल्लो १ वर्षको अवधिमा विपद्जन्य घटनामा परी ठूलो मानवीय र भौतिक क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
चालू आर्थिक वर्षको साउनदेखि असार १७ गतेसम्म प्राकृति विपद्मा परी ४६२ जनाले ज्यान गुमाएका छन् ।
तीमध्ये सबैभन्दा बढी आगलागीको घटनामा परी १०४ जनाको ज्यान गएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन् । उनले प्राधिकरणमा देशभरबाट कुल ७ हजार ९८९ वटा विपद्का घटना दर्ता भएका बताउए । ती घटनामा १८ जना बेपत्ता रहेका प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
प्राकृतिक विपद्का कारण २ हजार १७८ जना घाइते भएका छन् भने १२ हजार ९८४ परिवार प्रत्यक्ष रूपमा प्रभावित बनेका छन् । पहिरोका घटनामा परी ७३ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् ।
बाढीका २८९ घटनामा ३२ जनाको ज्यान गएको छ भने ७ जना बेपत्ता भएका छन् ।
यसैगरी ४०१ वटा चट्याङका घटनामा ३७ जनाको मृत्यु भएको छ भने २४४ जना घाइते भएका प्रवक्ता महतले जानकारी दिए । उनका अनुसार सर्पदंशका कारण ७०, जनावर आतंकबाट ५९ र लेक लागेर ५१ जनाको ज्यान गएको छ ।
प्रवक्ता महतले हावाहुरीका कारण १८, भारी वर्षाका कारण ९, हिउँपहिरोमा परी ७ र डुङ्गा पल्टिँदा २ जनाको ज्यान गुमाएको जानकारी दिए । यस अवधिमा भएका विभिन्न विपद्का घटनाबाट देशमा कुल २ अर्ब ६ करोड ४७ लाख ७३ हजार १२८ बराबरको अनुमानित आर्थिक क्षति भएको छ ।




प्रतिक्रिया