काठमाण्डु – बर्डफ्लुको संक्रमण पुष्टि हुन थालेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मानिसमा संक्रमण फैलिन नदिन मोबाइल रिङटोनमार्फत् जनचेतनामूलक सन्देश प्रवाह सुरू गरेको छ।
फोन गर्दा रिङटोनमा बर्डफ्लुबाट बच्ने उपाय, संक्रमित भएका, बिरामी वा मरेका चराचुरुंगी तथा कुखुरासँग प्रत्यक्ष सम्पर्क नगर्न, मृत पन्छी देखेमा त्यसको नजिक नजान, शंका लागेमा सम्बन्धित निकायलाई जानकारी गराउन तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको मन्त्रालयले जनाएको छ।
त्यस्तै, पन्छीको मासु र अण्डा राम्रोसँग पकाएर मात्र खान, बर्डफ्लुसम्बन्धी थप जानकारी वा परामर्श आवश्यक परेमा हेलो स्वास्थ्यको टोल–फ्री नम्बर १११५ मा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले पछिल्लो समय देशका विभिन्न जिल्लामा बर्डफ्लुको संक्रमण पुष्टि भइरहेकाले जनसाधारणमा अनावश्यक त्रास फैलिन नदिन तथा संक्रमणको जोखिमबारे सही जानकारी पुर्याउने उद्देश्यले मोबाइल रिङटोनमार्फत् जनचेतनामूलक सन्देश प्रसारण सुरु गरिएको बताएकी छन्।
सरकारले बर्डफ्लु संक्रमित कुखुरा तथा अन्य पन्छी नष्ट गर्ने, प्रभावित क्षेत्रको निगरानी बढाउने, प्राविधिक टोली परिचालन गर्ने तथा जैविक सुरक्षाका मापदण्ड कडाइका साथ पालना गराउने अभियानलाई तीव्र बनाएको जनाएको छ।




प्रतिक्रिया