काठमाण्डु- भेनेजुएलामा विनाशकारी दुई भूकम्पको ८ दिनसम्म भग्नावशेषमा पुरिएका ४३ वर्षीय हेर्नान गिललाई जीवितै अवस्थामा उद्धार गरिएको छ ।
लामो समय भग्नावशेषमुनि बस्दा ती युवाको शरीरमा पानीको मात्रा कम भएको र मनोवैज्ञानिक असर परेको हुनसक्ने भन्दै तत्काल स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
उनलाई सकुशल उद्धार गरेपछि सयौँ उद्धारकर्ता र आफन्तहरूले खुसीयाली मनाएका थिए । भूकम्प गएको एक हप्तापछि सामान्यतया भग्नावशेषमा पुरिएका व्यक्तिलाई सकुशल उद्धार गरेको चमत्कारिक घटना मानिन्छ ।
भेनेजुयला भूकम्पमा परी बिहीबारसम्म मृत्यु भएको पुष्टि गरिएका व्यक्तिको आधिकारिक संख्या २ हजार ३०० पुगेको छ भने अझैपनि ठूलो संख्यामा मानिसहरू बेपत्ता रहेको जनाइएको छ ।
भेनेजुयलामा सक्रिय उद्धारकर्मीले भग्नावशेषमुनि यति लामो समय बिताएका सुरक्षा गार्ड गिलको उद्धारलाई चमत्कारको रूपमा वर्णन गरे भने आफन्तहरूले उद्धारकर्मीको निरन्तरको प्रयासबाट यो सफलता प्राप्त भएको भन्दै यसको स्वागत गरेका छन् ।
जुन २४ को विपत्तिमा लगभग पूरै भत्किएको काटिया ला मारको तटीय क्षेत्रमा रहेको ७ तले भवन भत्किएपछि गिल त्यहाँ पुरिएका थिए ।
भेनेजुएला, चिली, संयुक्त राज्य अमेरिका, पोर्चुगल, कोस्टारिका, एल साल्भाडोर र मेक्सिकोलगायतका टोलीहरूले तीन दिनसम्म निरन्तर भग्नावशेष पन्छाउँदै गिलसम्म पुगेका बताइएको छ ।
उनीहरूले उनको उद्धारका समय पानीको कमी नहोस् भनेर पाइपबाट पानी र पर्याप्त अक्सिजनका लागि पाइपबाट अक्सिजनको व्यवस्था गरेका थिए ।
अन्तिम चरणमा दुई उद्धारकर्ताले तीन मिटर लामो सुरुङ खनेपछि भवनको पार्किङ क्षेत्रमा करिब तीस जना मानिसले भग्नावशेष हटाएपछि उनको सकुशल उद्धार गरिएको थियो ।




प्रतिक्रिया