काठमाण्डु – काठमाण्डु महानगरपालिकाले पाँचौँ संस्करणको महानगर अनुसन्धान शोधवृत्तिका १० उम्मेदवार गर्ने तयारी गरेको छ ।
कामपा सहरी योजना आयोगले एकीकृत, सन्तुलित र सर्वाङ्गीण महानगर निर्माणमा अनुसन्धान गर्न महानगर अनुसन्धान शोधवृत्ति तयारी गरेको आयोगको सचिवालय प्रमुख नवराज थापाले जानकारी दिए । थापाका अनुसार सहरी योजना आयोगले अहिले ‘महानगर अनुसन्धान शोधवृत्ति’का उम्मेदवार छनोटका लागि अन्तर्वार्ता र प्रस्तावसम्बन्धी प्रस्तुतीकरण सत्र सञ्चालन गरिरहेको छ ।
कामपाले गएको पुस १ गते १० वटा विषयमा अनुसन्धान गर्न शोधकर्तालाई प्रस्ताव आह्वान गरेको थियो । अनुसन्धानको परिणामसँग नीतिगत निर्णयको सम्बन्ध, कार्यान्वयन उपयोगिता, पूर्वाधार तथा सामाजिक विकासमा आधारित परिणाम, आवश्यकतामा आधारित परियोजना जस्ता विषयलाई प्राथमिकतामा राखेर यस वर्ष अध्ययनका विषय छनोट गरिएको छ ।
अनुसन्धान गर्न चाहेको विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र अनुसन्धान, अध्यापन वा विषयगत काममा २ वर्षको अनुभव हुने अनुसन्धानकर्ताबाट तोकिएका क्षेत्रमा अनुसन्धान गर्न बढीमा १५ पृष्ठसम्मको प्रस्ताव माग गरिएको थियो ।
प्रस्तावमा अनुसन्धानको पृष्ठभूमि, अनुसन्धानका विधि, क्षेत्र, सीमा, कार्यतालिका, अपेक्षित परिणाम तथा सम्भावित प्रभावलगायत विषय समावेश गर्ने सर्त छ । शोधवृत्तिका लागि छानिन भाषागत रुपमा नेपाली वा अंग्रेजीमध्ये कुनै १ भाषामा पोख्त हुनुपर्नेछ । अनुसन्धानका लागि ६ महिनाको अवधि प्रदान हुनेछ । यस अवधिभित्र आवेदकले ४ पटक प्रस्तुतीकरण गर्नुपर्नेछ ।
अनुसन्धातालाई करसहित १ लाख ५० हजार उपलब्ध गराउनेछ । यसबाट अनुसन्धान, लेखन लगायतका काम गर्नुपर्नेछ । यो रकम ४ किस्तामा प्रदान हुनेछ । अध्ययन प्रस्ताव स्वीकृत भएपछि २० प्रतिशत, मध्यावधि प्रस्तुतीकरण र प्रतिवेदन पेस भएपछि ३० प्रतिशत, मस्यौदा प्रतिवेदन पेस गरेपछि ३० प्रतिशत र आयोगले आयोजना गरेको कार्यशालामा अन्तिम प्रतिवेदन प्रस्तुतीकरण र पेस गरेपछि बाँकी २० प्रतिशत रकम भुक्तानी हुनेछ ।
थापाका अनुसार यस वर्षका लागि १) सहरी सुशासन र विश्वव्यापी प्रतिस्पर्धा, २) महानगरको पहिचानमा सांस्कृतिक विविधता, ३) गुणस्तरीय सहरी बसोबास, ४) आर्थिक समृद्धिका लागि नवप्रवर्तन, ५) सहरी यातायात प्रणालीको पूर्वाधार, ६) वातावरण, जलवायु र उत्थानशीलता, ७) सामाजिक समावेशीकरण र समता, ८) शिक्षा तथा सांस्कृतिक आदानप्रदान, ९) सुरक्षा, स्वास्थ्य र कल्याण तथा १०) तथ्यांकमा आधारित अनुगमन मूल्यांकन प्रणालीको संस्थागत विकासलाई क्षेत्रगत शोध विषयका रूपमा चयन गरिएका छन् ।




प्रतिक्रिया