काठमाण्डु – लेदोसहित बाढी आउँदा डोल्पमा एक महिलाको मृत्यु भएको छ । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा गएरातिको लेदोसहितको बाढी आउँदा एक महिलाको मृत्यु भएको र ६ जना घाइते भएका प्रहरीले जनाएको छ ।
लगातारको वर्षापछि धुलाखोला र आसपासका खोल्साबाट आएको हिलो माटो र ढुङ्गासहितको बाढी गाउँमा पसेको डोल्पाका प्रहरी नायव उपरीक्षक अनिलराज गिरीले जानकारी दिए । उनका बाढीमा घाइते भएकी स्थानीय ५६ वर्षीया आनन्दी विकलाई उद्धार गरी स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।
बाढीमा घाइते भएका अन्य ६ जनाको झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । स्थानीयका अनुसार बाढीले झण्डै १५–१६ मिटरसम्म बगाएको थियो । बाढीले गाउँमा ठूलो भौतिक क्षति समेत पुर्याएको छ ।
सुर्खेत, दैलेख र अछाममा बाढीको जोखिम
सुर्खेत, दैलेख र अछाममा थप वर्षाको सम्भावना रहेको छ ।
बाढी पूर्वानुमान महाशाखाले सुर्खेत, दैलेख र अछामसहित आसपासका नदी तथा खोलामा बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । गए राति पनि सुर्खेत, दैलेख, अछामसहित देशका सबैजसो क्षेत्रमा पानी परेको थियो ।




प्रतिक्रिया