तीन महिनासम्म खामेनेईको शव किन लुकाइयो ?

तीन महिनासम्म खामेनेईको शव किन लुकाइयो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – यसै वर्ष फेब्रुअरी २८मा अमेरिका र इजरायलको हवाई आक्रमणमा मारिएका भनिएका ईरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेई तथा उनका परिवारका सदस्यहरूको अन्तिम बिदाइ समारोह करिब चार महिनापछि शुक्रबारदेखि सुरु भएको छ ।

खामेनेई तथा उनका परिवारको अन्तिम बिदाइका कार्यक्रम जुलाई ३ मा सुरु भएको छ भने बिहीबार अर्तात् जुलाई ९ सम्म चल्नेछ ।अन्तिम बिदाइका कार्यक्रममा शनिबार विभिन्न देशका प्रतिनिधिहरू श्रद्धाञ्जली कार्यक्रममा सहभागी भएका थिए ।

शुक्रबार अली खामेनेई र उनका परिवारका ३ सदस्यको शव राखिएको ईरानी राष्ट्रिय झन्डाले ढाकिएको ताबुत तेहरानस्थित ग्रान्ड मोसल्लामा पुर्‍याइएको छ ।

तेहरानको प्रमुख धार्मिक तथा सांस्कृतिक केन्द्र इमाम खोमेनी मस्जिदमा अन्तिम बिदाइ कार्यक्रम औपचारिक रूपमा सुरु भएको हो । समारोहअघि कालो पहिरनमा हजारौँ शोकाकुल नागरिक उपस्थित थिए । रातो फूलले सजाइएको ताबुतमाथि सेता पुतली झुन्ड्याइएका थिए ।

ईरानले यस समारोहलाई केवल धार्मिक संस्कारका रूपमा मात्र नभई युद्धपछिको आफ्नो राजनीतिक तथा कूटनीतिक शक्ति प्रदर्शनका रूपमा पनि प्रस्तुत गरिरहेको छ ।

ईरानमा सरकारद्वारा आयोजना गरिने यस्ता सार्वजनिक कार्यक्रमलाई प्रायः सत्तारूढ व्यवस्थाप्रतिको जनसमर्थन प्रदर्शनका रूपमा पनि लिइन्छ ।

आयोजन समितिका प्रमुख तथा उपराष्ट्रपति मोहम्मद रेजा आरिफले जुलाई ४ र ५ मा तेहरानमा सार्वजनिक बिदा तथा जुलाई ६ मा देशभर सार्वजनिक बिदा दिइएको जानकारी दिएका छन् ।

तेहरानमा कार्यक्रमको सुरक्षा समन्वय गरिरहेका इस्लामिक रिभोलुसनरी गार्ड कोप्रस (आईआरजीसी) का वरिष्ठ कमान्डर ब्रिगेडियर जनरल हसन हसनजादेहका अनुसार समारोहमा १ करोड २० लाखदेखि १ करोड ५० लाखसम्म मानिस सहभागी हुन सक्ने अनुमान गरिएको छ । सहभागी संख्या २ करोडसम्म पुग्न सक्ने उनको भनाइ छ ।

सैन्य प्रवक्ता ब्रिगेडियर जनरल मोहम्मद अकरामिनियाले सुरक्षा व्यवस्थाका लागि १० हजारभन्दा बढी सुरक्षाकर्मी, १० सैन्य अस्पताल तथा करिब १ लाख ५० हजार प्रहरी परिचालन गरिएको जानकारी दिएका छन् ।

जुलाई ६ मा तेहरान र जुलाई ९ मा मशहदको हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरिने जनाइएको छ ।

लामो समय शव किन राखियो ?

अली खामेनेई तथा उनका परिवारका सदस्यहरूको शव करिब ४ महिनासम्म कसरी सुरक्षित राखियो र अन्त्येष्टिमा किन ढिलाइ गरियो भन्नेबारे ईरानले औपचारिक रूपमा कुनै विवरण सार्वजनिक गरेको छैन ।

विश्लेषकहरूका अनुसार इस्लाममा सामान्यतया मृत्यु भएपछि सकेसम्म छिटो दफन गर्ने परम्परा छ । शवलाई रासायनिक पदार्थ प्रयोग गरी दीर्घकालसम्म सुरक्षित राख्ने प्रचलनलाई इस्लाममा प्रोत्साहन गरिँदैन ।

इरानको आतंकवादविरोधी विषयका विज्ञ डा. ओमर मोहम्मदले शवलाई सम्भवतः एम्बामिङ नगरी रेफ्रिजरेटेड कोल्ड स्टोरेजमा सुरक्षित राखिएको बताए ।

उनका अनुसार शिया धार्मिक कानुनले विशेष परिस्थितिमा दफन प्रक्रियामा ढिलाइ गर्न तथा शवलाई चिसोमा सुरक्षित राख्न अनुमति दिन्छ, विशेषगरी सर्वोच्च धार्मिक नेताका हकमा यस्तो छुट सहजै प्राप्त हुन सक्छ ।

विश्लेषकहरूको भनाइमा अमेरिका र इजरायलसँग करिब ४० दिनसम्म चलेको युद्धका कारण पनि अन्तिम बिदाइ कार्यक्रम पछि सारिएको हुन सक्छ ।

गत जुन १५ मा अमेरिका र ईरानबीच ६० दिने युद्धविरामसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । त्यसको दुई दिनअघि मात्रै ईरानले अन्तिम बिदाइ कार्यक्रमको तालिका सार्वजनिक गरेको थियो ।

(तस्बिर सबै AFP)