काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकार नागरिकको जीवनस्तर सुधारभन्दा सामाजिक सञ्जालमा लोकप्रियता खोज्न केन्द्रित भएको आरोप लगाएका छन्।
आइतबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित सरकारको १०० दिनको समीक्षात्मक कार्यक्रममा बोल्दै थापाले सरकार विधि, प्रक्रिया र दीर्घकालीन नीतिगत समाधानभन्दा प्रचारमुखी काममा लागेको टिप्पणी गरेका हुन्।
‘यो सरकारलाई लाइफभन्दा लाइकको चिन्ता छ। भर्चुअल तालीमा लागेको छ,’ उनले भने, ‘भूमिहीनहरूको समस्या कानुन बनाएर समाधान गरेको भए सामाजिक सञ्जालमा लाइक आउँदैनथ्यो, त्यसैले सुकुम्बासी बस्तीमा फिल्मी शैलीमा डोजर चलाइयो।’
थापाले सरकार विधि र प्रक्रियाभन्दा पनि ‘परिणाम’ दिने नाममा कानुनविपरीत अभ्यासतर्फ उन्मुख देखिएको आरोप पनि लगाए।
‘विधि र प्रक्रिया केही होइन, परिणाम दिन्छु भनेर सरकार हिँडिरहेको छ। यस्तो अभ्यास हामीले विगतमा पनि देखेका हौं,’ उनले भने।
थापाले प्रधानमन्त्री बालेन्द्र साहको कार्यशैलीको प्रशंसा गर्दै सरकारी कामकाज प्रधानमन्त्री निवास बालुवाटारभन्दा सिंहदरबारबाट सञ्चालन गर्नु सकारात्मक रहेको बताए।
‘यसपालि सिंहदरबार र बालुवाटारमा धेरै फरक देखिन्छ। सिंहदरबारमा बसेर प्रधानमन्त्रीको जुन शासकीय जिम्मेवारी छ, त्यसलाई प्राथमिकतामा राखिएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीको फोकस शासकीय काममै छ। यो हेर्दा सामान्य देखिए पनि सकारात्मक छ र यसले निरन्तरता पाओस्।’।
थापाले विगतका प्रधानमन्त्रीहरू बालुवाटारमा बसेर प्रधानमन्त्रीभन्दा दलका नेताका रूपमा बढी सक्रिय हुने गरेको टिप्पणी समेत गरे।
यस्तै दलितसँग माफि माग्ने सरकारको निर्णय लाइफ नभई लाइट रहेको उनको टीप्पणी छ।




प्रतिक्रिया