कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा तत्काल खाली गराउन निर्देशन दिएका छन् ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहित आईतबार साँझ अस्पतालको स्थलगत निरीक्षणमा पुगेका गृहमन्त्री गुरुङले सरकारी र सार्वजनिक जग्गा हडपेर बनाइएका अवैध संरचना हटाउन गृह प्रशासनलाई निर्देशन दिए ।

विभिन्न संघसंस्थाले अस्पतालको जग्गा वर्षौँदेखि कब्जा गरी व्यावसायिक प्रयोजनमा लगाएको पाइएपछि गृहमन्त्री गुरुङ आफैँ टोली लिएर अस्पताल परिसरको वस्तुस्थिति बुझ्न पुगेका थिए । अस्पताल प्रशासनले अतिक्रमित संरचना हटाउन दिएको १५ दिने म्याद सकिएको २ दिनपछि गृहमन्त्री र स्वास्थ्य मन्त्रीको टोलीले आकस्मिक निरीक्षण गरेको छ ।

निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले कानुनको बर्खिलाप हुने गरी सार्वजनिक जग्गा ओगट्ने जो कोहीलाई पनि नछाडिने बताए । अस्पतालको स्वामित्वमा रहेको जग्गा खाली गराउने अभियानमा गृह मन्त्रालयले स्थानीय प्रशासन र सुरक्षा निकायलाई पूर्ण रूपमा परिचालन गर्ने उनको भनाइ थियो ।

स्वास्थ्यमन्त्री निशा मेहताले अस्पतालले दिएको समयसीमा सकिँदा पनि संरचना खाली नहुनु दु:खद् भएको भन्दै अबको १ हप्ताभित्र यो ठाउँ खाली गराइने प्रतिबद्धता जनाए ।

कोशी अस्पतालका नाममा रहेको विराटनगर–७ स्थित कित्ता नम्बर १२, १५, २२, ११, २६ र २३ को जग्गामा नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना बनाई भाडामा लगाएका छन् ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चन्द्रभाल झाले अस्पतालको जग्गा फिर्ता हुने प्रक्रियाले गति लिनेमा विश्वास व्यक्त गरेका छन् ।