काठमाण्डु– आज देशका विभिन्न १४ जिल्ला भएर बहने स–साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बुलेटिन जारी गर्दै रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया, अछाम, डोटी, बैतडी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जनाएको छ ।
आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा पानीको बहाव सतर्कता तहभन्दा तलै छ ।
यसैगरी कन्काई, कमला, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि अहिले सुरक्षित अवस्थामै रहेको बुलेटिनमा जनाइएको छ ।

यस्तै बाढी, पहिरो र सडक मर्मतका कारण ४ वटा सडक खण्डहरू अवरुद्ध भएका छन्।
नेपाल प्रहरीले सार्वजनिक गरेको सोमबार बिहान ८ बजेसम्मको तथ्यांक अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडकमा सवारी आवागमन प्रभावित बनेको हो।
आज काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी चल्ने बिपी राजमार्ग सडक, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ महालक्ष्मीस्थित कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाण्डु सडक खण्ड र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ स्थित रिजेगार्ड खोलामा भेरी करिडोर पूर्ण रूपमा अवरुद्ध रहेका छन् ।





प्रतिक्रिया