कर्णालीको भिरबाट डाँको लगाउँदा लगाउँदै घाइते बिते, मन्त्री हेलिकप्टरमा उडिरहे : ज्ञानेन्द्र शाही

कर्णालीको भिरबाट डाँको लगाउँदा लगाउँदै घाइते बिते, मन्त्री हेलिकप्टरमा उडिरहे : ज्ञानेन्द्र शाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले कर्णालीका जनता सवारी दुर्घटनामा परेर नदीमा बगिरहँदा राज्यले उद्धारमा चासो नदिएको छर, त्यही समयमा नदी माथिबाट मन्त्रीको हेलिकोप्टर उडेको भन्दै आपत्ति जनाएका छन् ।


सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले दुर्घटनाका घाइतेले ज्यान बचाइदिन हारगुहार गर्दा राज्य संवेदनहीन भएर बसेको आरोप लगाए । शाहीले घाइते जनतालाई बचाउन हेलिकप्टर उपलब्ध नहुने, तर मन्त्री शयर गर्न भने हेलिकोप्टर उपलब्ध हुनुको कारणबारे छानबिनको माग गरे ।

सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क. प्र.०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी गत असार १८ गते दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साँगेताडाबाट सडकबाट करिब चारसय मिटर तल खसेर कर्णाली नदीमा डुबेको थियो । दुर्घटनामा बेपत्ता भएकाहरुको खोजी जारी छ ।

‘कर्णालीमा १८ गते गाडी नदीमा खस्यो । मान्छेहरु गुहार मागिरहेका थिए । मलाई बचाउ भनिराखेका थिए । एक जना मानिस भीरमा अड्किएर ज्यानको भिख मागिराख्नुभएको थियो । डाँको लगाउँदा लगाउँदै स्वर सुक्यो, उहाँको जीवन गयो । गाडी नदीमा खस्यो । कर्णालीका नागरिकको ज्यान गयो तर, उद्धार आएन’, शाहीले भने, ‘त्यही बेला आकाशमा एउटा हेलिकप्टर देखियो । तर, त्यो उद्धारका लागि थिएन । मन्त्रीज्यूको सवारीका लागि थियो । सरकारका केन्द्रीय मन्त्री कर्णलीको आकाशमा घुमिरहनुभएको थियो ।’

शाहीको संकेत ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री बिराजभक्त श्रेष्ठमाथि थियो । मन्त्री श्रेष्ठ १९ असारमा डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार्यको शुभारम्भ गर्न हेलिकप्टरमा गएका हुन् ।

श्रेष्ठ डोल्पाको मुड्केचुला गाउँपालिका–४ इलामा सुरुङ निर्माणको शुभारम्भ गरेर काठमाण्डु फर्किएका थिए ।

शाहीले उद्धारमा भएको लापरबाही र नागरिकको अनाहकमा ज्यान गएको विषयमा छानबिन गर्नका लागि सरकारलाई तत्काल रुलिङ गर्न सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराए ।

शाहीले कर्णाली नेपालमा पर्छ कि पर्दैन र कर्णालीका मानिस नेपाली हुन् कि होइनन् ? भन्दै प्रश्न गरे । आफूले उद्धारका लागि सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल र कर्णाली प्रदेशका डिआईजीलाई फोन गरेको तर, उद्धार सामग्री नभएको जवाफ पाएको शाहीले बताए । कर्णालीमा आफूले दुर्घटना नभई सरकारको असक्षमता र गैरजिम्मेवारी देखेको शाहीले उल्लेख गरे ।
उनले सरकारले कसका लागि काम गरिरहेको छ र भाषण कसका लागि गरिरहेको छ भन्ने प्रश्न गरे । ‘मन्त्रीको हेलिकप्टर आकाशमा उडिरहँदा एउटा हेलिकप्टर पठाउने क्षमता यो सरकारसँग भएन । काम कसका लागि गरिरहेका छौं ? भाषण कसका लागि ठोकिरहेका छौं हामी ?’ उनले भने, ‘ २४ घण्टा बित्यो एउटा हेलिकप्टर पनि गएन । भीरमा अड्केको मानिसबचाउन सकिन्थ्यो । सुरक्षाकर्मी पुग्यो, मानिस बचाउन होइन, मरेका मानिसको मुचुल्का उठाउन’, उनले भने ।

आफूले उठाएको विषय कसैलाई राजनीतिक रुपमा लाग्न सक्ने र कसैलाई भावुकता लाग्न सक्ने भन्दै उनले आफ्ना मान्छे गुमाएकाहरुलाई मात्र जीवनको मूल्य थाहा हुने बताए । ‘म सरकार र यो सदनसँग एउटा प्रश्न सोध्न आएको छु । कर्णाली यो देशमा पर्छ कि पर्दैन ? जवाफ चाहियो । मन्त्रीहरु हेलिकप्टरमा सयर गर्दा कर्णालीमा नागिरक मर्दा उद्धार गर्न नहुने ? कर्णालीका जनता यो देशका नागरिक हुन कि होइनन् ? कर्णालीका नागरिकहरुले बाँच्न पाउने अधिकार छ या छैन ? कर्णालीका युवाहरु यो देशका भविष्य हुन या होइनन ? के कर्णालीमा जन्मनु हाम्रो अभिसाप हो ?’, शाहीले प्रश्न गरे ।

उनले संसदबाट विपदका बेला हेलिकप्टर प्रयोग गर्ने गफ दिने सरकारका गृहमन्त्री सुधन गुरुङ र उनका स्वकीय सचिवले आफूले पटकपटक फोन गर्दा नउठाएको भन्दै शाहीले आक्रोश पोखे ।

‘आकाशमा मन्त्रीको हेलिकप्टर उडिरहँदा नदीमा नागरिकहरु डुबिरहेका थिए । यो दृष्य केबल एउटा दुर्घटना होइन, राज्यको संवेदनहीनताको एउटा प्रमाण हो । त्यसैले सभामुखमार्फत सरकारसँग स्पष्ट जवाफ चाहन्छु । कर्णालीका मानिसको ज्यानको मुल्य कति हो ? सभामुखलाई १०औंला जोडेर बिन्ती गर्छु । सरकारलाई रुलिङ गर्नुस् । घटनाको सत्यतथ्य सार्वजनिक गर्न, उद्धारमा भएको ढिलाइको जिम्मेवारी निर्धारण गर्न रुलिङको माग गर्न चाहन्छु’, सांसद् शाहीले भने ।