प्रदेशका मन्त्रीलाई थुन्न सक्छौं, मेयरलाई कारबाही गर्न सक्छौंः मन्त्री लम्साल

प्रदेशका मन्त्रीलाई थुन्न सक्छौं, मेयरलाई कारबाही गर्न सक्छौंः मन्त्री लम्साल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले सरकारले प्रदेशका मन्त्री र नगरपालिकाका मेयरलाई पनि सरकारले थुनेर कारबाही गर्न सक्ने विवादास्पद अभिव्यक्ति दिएका छन् ।

उनको उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिकामा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्तासँगको भेटमा उनले काम नगर्ने मेयरलाई कारबाही गर्ने र प्रदेश मन्त्रीलाई थुन्ने चेतावनी दिएका हुन् ।

‘कुनै मेयरले काम गर्नुभएन । जनतालाई अपहेलना गर्नुभयो । सेवामा लापरबाही गर्नुभयो भने त्यो केसमा पनि हामीलाई जानकारी गराउनुहोला’, लम्सालले भने, ‘ मेयरलाई पनि कारबाही गर्छौं हामी । प्रदेशका मन्त्रीलाई नै थुन्छौं हामी । चिन्तै लिनुपर्दैन । काम गर्नुपर्‍यो, काम गराउनुपर्‍यो ।’


यसअघि निर्माणाधीन पृथ्वी राजमार्गको अनुगमनमा गएका बेला निर्माण क्षेत्रमा पर्ने बिजुलीको पोल नसार्ने निर्माण व्यवसायीको खुट्टा भाँच्ने धम्की दिएर मन्त्री लम्साल विवादमा परेका थिए ।


लम्साल प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का निकट विश्वासपात्र मानिन्छन् । शाह काठमाण्डु महानगरपालिकाको मेयर छँदा लम्साल स्वकीय सचिव थिए ।

प्रधानमन्त्री शाहले केही समयअघि लम्सालसँगै गृहमन्त्री सुधन गुरुङसँगको तस्बिर सामाजिक सञ्जालमा राखेर ‘देश बनाउने टिम’ लेखेका थिए ।