काठमाण्डु– कर्णालीबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरुले कर्णाली राजमार्गमा दैनिकजसो भइरहने सानाठूला सडक दुर्घटनाप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा कर्णालीका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदले कर्णाली राजगमार्गको स्तरोन्नति गरी सडक दुर्घटना न्यूनीकरणमा विशेष योजना बनाउन सरकारलाई सुझाव दिएका हुन् ।
नेपाली कांग्रेसका प्रमुख सचेतक वासना थापाले सुर्खेतदेखि कालीकोट जाँदै गरेको यात्रुवाहक गाडी दैलेख खण्डमा कर्णाली नदीमा दुर्घटना भई बेपत्ता भएको ५ दिन भइसक्दा पनि यकिन तथ्य आउन नसक्नु विडम्बना भएको बताइन् । ‘यो दुर्घटना हाम्रा लागि नयाँ होइन, दिनहुँजसो कर्णालीका सडकमा रगत बगिरहेका छन्’, उनले भनिन्, ‘आज कर्णालीका सडक ‘सडक रहेनन्’, हरेक पटक यात्रा गर्दा नागरिकले आफ्नो ज्यान हत्केलामा राख्नुपर्ने, यो कस्तो विवशता हो ?’
नेपाल कम्युनिष्ट पार्टी (एमाले)की एशुदाकुमारी बरालले कर्णालीका राजमार्गको स्तरोन्नति गरी दुर्घटना न्यूनीकरणका लागि विशेष योजना ल्याउन सरकारको ध्यानाकर्षण गराइन् । कांग्रेसका खड्ग शाहीले कर्णाली राजमार्गमा दुर्घटनाग्रस्त यात्रुवाहक गाडीको खोजीसम्बन्धी पछिल्लो अवस्थाबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटाले कर्णाली राजमार्गमा दैनिक दुर्घटनाको संख्या बढ्दै गइरहेका चिन्ता व्यक्त गर्दै उक्त राजमार्ग सडकको मापदण्डभित्र रहे÷नरहेका बारेमा छानबिन गर्न माग गरे ।
सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्र ०२–००१ ख १०५५ नम्बरको गाडी ११ः३० बजे दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडामा दुर्घटना भई कर्णाली नदीमा खसेको थियो । उक्त यात्रुवाहक गाडी हालसम्म भेटिएको छैन ।




प्रतिक्रिया