झापामा गृहमन्त्री : काँकरभिट्टा र जोरसिमल चेकपोस्टको निरीक्षण, हात्ती प्रभावित क्षेत्रको अवलोकन

झापामा गृहमन्त्री : काँकरभिट्टा र जोरसिमल चेकपोस्टको निरीक्षण, हात्ती प्रभावित क्षेत्रको अवलोकन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन गर्ने उद्देश्यले गृहमन्त्री सुदन गुरुङ झापाको भ्रमणमा छन् ।

आइतबार राति झापा आइपुगेका गृहमन्त्री गुरुङले आज अर्जुनधारा नगरपालिका–११ स्थित सालबारी हेरिटेज भिल्लामा जिल्लास्थित सुरक्षा समितिका पदाधिकारीसँग भेटघाट गरेका हुन् ।

भेटमा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्का, सशस्त्र प्रहरी बल नेपाल नं. २ गण मुख्यालयका सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी तथा राष्ट्रिय अनुसन्धान विभाग झापाका प्रमुख उपअनुसन्धान निर्देशक उमेश पाण्डे सहभागी छन् ।

सुरक्षा निकायसँग जिल्लाको समग्र सुरक्षा अवस्था, सीमा व्यवस्थापन, तस्कर नियन्त्रण, लागुऔषध ओसारपसार, मानव बेचविखनलगायत समसामयिक सुरक्षा चुनौतीबारे छलफल भएको छ ।

गृहमन्त्री गुरुङ आज बिहान १०ः२० बजे सालबारीबाट मेचीनगर नगरपालिका–४ स्थित बाँहुण्डाँगीको हात्ती प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका थिए । सोही क्रममा उनले बुद्धशान्ति गाउँपालिका–६ सन्तपुर पुगेर जेन–जी आन्दोलनका क्रममा घाइते भएका अनिकेत चौलागाईँसँग भेटघाट गरी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । भेटपछि उनी पुनः बाहुण्डाँगीतर्फ प्रस्थान गरेका छन् ।

गृहमन्त्री गुरुङले मेचीनगर नगरपालिका–७ इट्टाभट्टास्थित सशस्त्र प्रहरी बल नेपालको जोरसिमल चेकपोष्टको निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा उनले सीमा सुरक्षालाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई आवश्यक निर्देशन दिएका छन् ।

त्यसपछि उनी मेचीनगर–६ स्थित काँकरभिट्टा नाकामा पुगेर सीमा नाकाको समग्र सुरक्षा व्यवस्था तथा यात्रु जाँच कक्षको स्थलगत अनुगमन गरेका थिए । त्यसलगत्तै उनले मेची भन्सार कार्यालयको निरीक्षण गरी राजस्व संकलन, भन्सार व्यवस्थापन तथा सीमा नाकाबाट हुने आवतजावतको अवस्थाबारे जानकारी लिएका थिए ।

झापा–भारत सीमाबाट हुने चोरी–पैठारी, लागुऔषध ओसारपसार, मानव बेचविखन, अवैध सीमा गतिविधि तथा बाँहुण्डाँगी क्षेत्रमा वर्षौँदेखि देखिँदै आएको जङ्गली हात्तीको समस्याप्रति गृहमन्त्रीले विशेष चासो व्यक्त गरेका छन् । उनले सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँग छलफल गरी आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ ।

बाँहुण्डाँगीमा उनले जंगली हात्तीबाट प्रभावित बस्तीको स्थलगत निरीक्षण गर्नुका साथै स्थानीयवासीसँग प्रत्यक्ष सम्बाद गरी त्यहाँका जनताले भोगिरहेका समस्या, गुनासा र सुझाव संकलन गर्ने कार्यक्रम छ ।

गृहमन्त्री गुरुङको भ्रमणलाई मध्यनजर गर्दै झापामा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी प्रशासनका अनुसार सुरक्षा निकाय विगत करिब ३६ घण्टादेखि उच्च सतर्कताका साथ परिचालित छन् ।