काठमाण्डु – त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिमा प्रा.डा. भोला थापाले सोमबारदेखि कार्यभार सुरु गरेका छन् ।
प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १८(२) बमोजिम गठित समितिको सिफारिसअनुसार सोही ऐनको दफा १८ को उपदफा (२) बमोजिम यही असार १९ गतेको निर्णायानुसार थापालाई नियुक्त गरेका हुन् ।
काठमाण्डु विश्वविद्यालयको उपकुलपति समेत रहिसकेका प्रा.डा. थापाले नेपालमा उच्च शिक्षा र अनुसन्धानको विकासमा उल्लेखनीय योगदान पुर्याएका छन् । काठमाण्डु विश्वविद्यालयमा रजिष्ट्रार र इन्जिनियरिङ संकायका डीनसहित थुप्रै महत्वपूर्ण नेतृत्वदायी पदहरूमा रहेर उत्कृष्ट योगदान गरिसकेका नवनियुक्त उपकुलपति प्रा.डा. थापाले हाइड्रोलिक मशिनरी र ऊर्जा प्रणाली क्षेत्रमा दक्ष विद्वानको समेत ख्याति प्राप्त गरेका छन् । उपकुलपति थापाले नर्वेजियन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीवाट विद्यावारिधि गरेका हुन् ।
कीर्तिपुरमा पदभार ग्रहण कार्यक्रममा उनले भौतिक तथा मानवीय स्रोतसाधनमा सक्षम तथा विश्वमा पृथक पहिचान र गरिमा बनाएको गौरवशाली त्रिभुवन विश्वविद्यालयलाई सरोकारवाला सबैको राय, सुझाव र सहयोगमार्फत उत्कृष्ट संस्थाको रूपमा समर्पित भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा निवर्तमान उपकुलपति प्रा.डा. सुशीलबहादुर बर्जाचार्य, निमित्त शिक्षाध्यक्ष प्रा.डा. शंकरप्रसाद खनाल एवं निमित्त रजिष्ट्रार प्रा.डा. महानन्द चालिसे लगायत विभिन्न अध्ययन संस्थान तथा संकायका डीन, अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक, महाशाखाका प्रमुखहरू लगायत प्राध्यापक, कर्मचारीका साथै विद्यार्थीहरू समेत सहभागी थिए ।




प्रतिक्रिया