एडीबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण सम्झौता

एडीबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।

सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकार र एडीबीबिच २ वटा छुट्टाछुट्टै सहुलियतपूर्ण ऋण सम्झौतामा औपचारिक हस्ताक्षर भएको हो ।

सहुलियत पूर्ण ऋण खानेपानी, ढल व्यवस्थापन तथा भन्सार प्रशासनको आधुनिकीकरणमा खर्च हुनेछ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडीबीका अध्यक्ष मासातो कान्डाको उपस्थितिमा भएको सम्झौता पत्रमा नेपाल सरकारका तर्फबाट अर्थ सचिव डा. घनश्याम उपाध्याय र एडीबीका तर्फबाट नेपाल आवासीय नियोगका देशीय निर्देशक आर्नो कोश्वाले हस्ताक्षर गरे ।

सम्झौता अनुसार ‘एकीकृत खानेपानी तथा ढल व्यवस्थापन (क्षेत्रगत) आयोजना’ का लागि ११ करोड ५० लाख अमेरिकी डलर र भन्सार प्रशासनको आधुनिकीकरणका लागि ५ करोड अमेरिकी डलर परिचालन गरिनेछ ।

त्यस अवसरमा अर्थमन्त्री डा. वाग्लेले नेपालको दिगो विकासमा एडीबीबाट प्राप्त सहयोगको उच्च मूल्यांकन गर्दै आगामी दिनमा साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गरे । एडीबीका अध्यक्ष कान्डाले नेपालसँगको ६ दशकभन्दा लामो सहकार्यलाई निरन्तरता दिँदै आन्तरिक तथा बाह्य आर्थिक चुनौती सामना गर्न बैंक सधैँ तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।