रियल इस्टेट क्षेत्र पुनः लयमा, पुँजीगत लाभकर संकलन ३१ प्रतिशतले बढ्यो

रियल इस्टेट क्षेत्र पुनः लयमा, पुँजीगत लाभकर संकलन ३१ प्रतिशतले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पछिल्लो समय सुस्त रहेको घरजग्गा कारोबारमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रयमासिक प्रतिवेदन अनुसार घरजग्गाको कुल कारोबार संख्यामा ६.४२ प्रतिशतको वृद्धि देखिएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा घरजग्गा कारोबार ४.५२ प्रतिशतले घटेको थियो । यस वर्ष भने बजारमा सकारात्मक संकेत देखिएका छन् ।

१ खर्ब ८३ अर्बको कारोबार, राजस्वमा भारी वृद्धि

समीक्षा अवधिमा देशभर कुल १ खर्ब ८३ अर्ब ९० करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार १ खर्ब ७ करोड रुपैयाँ मात्र रहेको थियो ।

कारोबार बढेसँगै सरकारले संकलन गर्ने राजस्वमा पनि ठूलो वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार घरजग्गा कारोबारबाट संकलन हुने कुल राजस्व २३.७२ प्रतिशतले बढेको छ ।

विशेषगरी घरजग्गा बिक्रीबाट प्राप्त हुने पुँजीगत लाभकर (Capital Gain Tax) मा ३१.४२ प्रतिशतको उच्च वृद्धि देखिएको छ । गत वर्ष यस्तो लाभकर १८.३१ प्रतिशतले मात्र बढेको थियो ।

काठमाण्डु महानगरमा १०८ प्रतिशतको उछाल

महानगरपालिकाहरूमध्ये काठमाण्डु महानगरपालिकामा घरजग्गा कारोबारमा सबैभन्दा धेरै आकर्षण देखिएको छ । काठमाण्डुमा घरजग्गाको कुल कारोबार संख्या १०८.४२ प्रतिशतले बढेको छ । त्यस्तै, काठमाण्डुमा कारोबार भएको कुल क्षेत्रफल ११९.९५ प्रतिशत र कारोबारको कुल मूल्य २२३.१२ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

काठमाण्डु बाहेक अन्य महानगरहरूमा पनि कारोबार उत्साहजनक रहेको छ । पोखरा महानगरपालिकामा कारोबार ८२।१५ प्रतिशतले वृद्धि भएको छ । यस्तैललितपुर महानगरपालिकामा ७३.८१, वीरगन्ज महानगरपालिकामा ३१.०७, भरतपुर महानगरपालिकामा २९.२१ प्रतिशत वृद्धि भएको तथ्यांकले देखाएको छ ।

बागमती प्रदेश अगाडि, मधेशमा संकुचन

प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशमा घरजग्गाको लिखत पारित संख्या ३३.०१ प्रतिशतले बढेको छ, जुन सातै प्रदेशमध्ये सबैभन्दा उच्च हो । अर्कोतर्फ मधेश प्रदेशमा भने कारोबार संख्या ५.४७ प्रतिशतले घटेको छ । कारोबारको कुल मूल्यको हिसाबले पनि बागमती प्रदेश १३१.५२ प्रतिशतको वृद्धिका साथ पहिलो स्थानमा छ । प्रतिवेदन अनुसार सबै प्रदेशहरूमा २.५ देखि १० आना क्षेत्रफलका प्लटहरू सबैभन्दा धेरै किनबेच हुने गरेका छन् ।

बुटवल र तुलसीपुरमा पनि बढ्यो कारोबार

उप–महानगरपालिकाहरूमध्ये बुटवलमा सबैभन्दा धेरै ५६.७९ प्रतिशतले कारोबार संख्या बढेको छ । त्यस्तै तुलसीपुर उप–महानगरपालिकामा कारोबारको कुल मूल्य १३४.४६ प्रतिशतले बढेको छ । तर, कलैया उप–महानगरपालिकामा भने कारोबार संख्या ६.९५ प्रतिशतले घटेको छ भने नेपालगन्जमा कारोबार भएको कुल क्षेत्रफलमा ६८.२९ प्रतिशतको गिरावट आएको छ ।

घरजग्गा क्षेत्रमा प्रवाह हुने बैंक कर्जा (आवासीय घरजग्गा कर्जासहित) मा पनि ५.५५ प्रतिशतको सामान्य सुधार देखिएको राष्ट्र बैंकको प्रतिवेदनले औंल्याएको छ ।