नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डु–एसियाली विकास बैंक (एडिबी) ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ ।
विश्व अर्थतन्त्रमा देखिएको दबाब, मूल्यवृद्धि र आपूर्ति शृंखलाको अवरोधले एसिया तथा प्रशान्त क्षेत्रको आर्थिक गतिविधिमा असर पर्ने भन्दै एडिबीले नेपालको वृद्धिदर अपेक्षाकृत न्यून रहने अनुमान गरेको हो ।

एडिबीको पछिल्लो प्रक्षेपणअनुसार सन् २०२५ मा नेपालको अर्थतन्त्र ४.४ प्रतिशतले विस्तार हुनेछ भने सन् २०२७ मा आर्थिक वृद्धिदर ४.५ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । चालु आर्थिक वर्षमा ६ प्रतिशत वृद्धिको लक्ष्य निर्धारण गरिए पनि संशोधित अनुमानअनुसार आर्थिक वृद्धि ३.८५ प्रतिशतमा सीमित हुने देखिएको छ ।

एडिबीले आगामी वर्ष एसिया तथा प्रशान्त क्षेत्रकै आर्थिक वृद्धिमा सुस्तता आउने जनाएको छ । विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता, बढ्दो मूल्यवृद्धि तथा आपूर्ति शृंखलामा देखिएको अवरोधले यस क्षेत्रको आर्थिक विस्तारमा प्रभाव पार्ने उसको भनाइ छ ।

दक्षिण एसियामा सन् २०२६ मा सबैभन्दा उच्च आर्थिक वृद्धि भारतको हुने एडिबीको अनुमान छ । भारतको आर्थिक वृद्धिदर ६.६ प्रतिशत रहने प्रक्षेपण गरिएको छ ।

यस्तै भुटानको ६.५ प्रतिशत, श्रीलंकाको ४ प्रतिशत तथा बंगलादेश र पाकिस्तानको समान ३.७ प्रतिशत आर्थिक वृद्धि रहने अनुमान एडिबीको छ ।

एडिबीका अनुसार सन् २०२६ मा अफगानिस्तानको आर्थिक वृद्धिदर २.३ प्रतिशत र माल्दिभ्सको १ प्रतिशत रहनेछ । समग्र दक्षिण एसियाको आर्थिक वृद्धि भने ६ प्रतिशत रहने प्रक्षेपण गरिएको छ ।