पुँजी बजारलाई सुरक्षित, पारदर्शी र अन्तर्राष्ट्रियस्तरको बनाउने बोर्डको प्रतिबद्धता

पुँजी बजारलाई सुरक्षित, पारदर्शी र अन्तर्राष्ट्रियस्तरको बनाउने बोर्डको प्रतिबद्धता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल धितोपत्र बोर्डले स्थापनाको ३४औँ वर्ष प्रवेशको अवसरमा पुँजी बजारलाई सुरक्षित, विश्वसनीय, प्रतिस्पर्धी तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

बोर्डका अध्यक्ष उत्तरकुमार खत्रीद्वारा जारी प्रतिबद्धता पत्रमा धितोपत्रसम्बन्धी ऐन, २०६३ ले दिएको अधिकारअनुसार बजारलाई भरपर्दो, विश्वसनीय र गतिशील बनाउन बोर्ड निरन्तर क्रियाशील रहेको उल्लेख गरिएको छ ।

सरकारले तय गरेको नीतिअनुसार पुँजी बजारको दिगो विकासका लागि नियामकीय सुधारलाई तीव्रता दिइने पनि बोर्डले जनाएको छ ।

बोर्डले नेपाल स्टक एक्सचेन्ज र सिडिएस एन्ड क्लियरिङ प्रणालीको पुन:संरचना, संस्थागत लगानीकर्ता, पेन्सन कोष, बीमा कम्पनी, सामूहिक लगानी कोष तथा गैरआवासीय नेपालीको सहभागिता विस्तार गर्ने लक्ष्य लिएको छ । ऋणपत्र बजार, बण्ड बजार, पूर्वाधार बण्ड तथा जोखिम व्यवस्थापनका उपकरण विकास गरी दीर्घकालीन पुँजी निर्माणलाई प्रोत्साहन गरिने जनाएको छ ।

विज्ञप्तिमा पुँजी बजारको विकास तथा सुधारका लागि विगतमा गठित आयोग तथा कार्यदलले दिएका सुझावहरू क्रमश: कार्यान्वयन गरिने उल्लेख छ । आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सूचीकृत कम्पनीका धितोपत्र बिक्रीबाट प्राप्त पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा व्यवस्था गरिएकाले बजार थप गतिशील हुने अपेक्षा पनि बोर्डले गरेको छ ।

धितोपत्र बोर्डले नियामकीय क्षमता अभिवृद्धि, संस्थागत सुदृढीकरण, प्रविधिको प्रयोग, लगानीकर्ताको हकहित संरक्षण, सुशासन प्रवर्द्धन तथा धितोपत्र बजारसम्बन्धी कसुरको अनुसन्धान र कारबाहीलाई प्राथमिकतामा राख्ने जनाएको छ । सार्वजनिक निष्कासन प्रक्रियालाई थप स्वच्छ र पारदर्शी बनाउन आवश्यक कानुनी तथा संरचनागत सुधार गरिने, साना तथा मझौला उद्यमका लागि विशेष पुँजी बजार मञ्च, वस्तु विनिमय बजार तथा आवश्यक पूर्वाधार सञ्चालनमा ल्याइने पनि प्रतिबद्धतामा उल्लेख गरिएको छ ।

बोर्डले बजार सञ्चालक संस्थाको संरचनागत सुधार, बजार सहभागीको व्यावसायिक क्षमता अभिवृद्धि तथा लगानीकर्ता शिक्षा र सचेतना कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको जनाएको छ ।

अध्यक्ष खत्रीले अन्तर्राष्ट्रिय प्रतिभूति आयोग संगठनले प्रतिपादन गरेका सिद्धान्त, अन्तर्राष्ट्रिय अभ्यास, नेपाल सरकारका नीति तथा सरोकारवाला निकायको मार्गदर्शनअनुसार धितोपत्र बजारको नियमन र सुपरीवेक्षणलाई अझ प्रभावकारी बनाइने जनाएका छन् । यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग समन्वय र सहकार्यलाई पनि थप सुदृढ बनाइने उनको प्रतिबद्धता छ ।

बोर्डले सरकारको आवधिक योजना, आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम तथा बजेटले निर्धारण गरेका लक्ष्यअनुसार धितोपत्र तथा वस्तु विनिमय बजारको विकासमा सक्रिय भूमिका निर्वाह गर्दै प्रभावकारी नियमन, सुपरीवेक्षण र सुधारका लागि नेपाल सरकार, वित्तीय क्षेत्रका नियामक निकाय, अन्तर्राष्ट्रिय संस्थाहरू तथा बजारसम्बद्ध सबै पक्षसँग निरन्तर सहकार्य गर्ने अपेक्षा पनि व्यक्त गरेको छ ।