काठमाण्डु – नक्कली प्रहरीको परिचय दिँदै सर्वसाधारणलाई धम्की तथा दु:ख दिएको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ घर भई हाल काठमाडौँ महानगरपालिका–६ हात्तीगौँडा बस्दै आएका ३८ वर्षीय राजकुमार आलेमगर रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार आलेमगरले आफू अपराध महाशाखाबाट एसपी दिलीप घिमिरे भएको भन्दै सर्वसाधारणलाई धम्क्याउने, अनावश्यक दबाब दिने तथा दु:ख हैरानी गर्ने गरेका थिए ।
प्रहरीका अनुसार उनले प्रहरी कर्मचारीसँग विवाद गर्दै सार्वजनिक स्थानमा होहल्ला गरी शान्तिसुरक्षामा खलल पुर्याउने तथा अभद्र व्यवहार गरेको आरोप लागेको छ ।
आलेमगरलाई काठमाण्डु महानगरपालिका–२६ सिंहदरबार अगाडिको सडक खण्डबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । निजविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाण्डुबाट ५ दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए ।




प्रतिक्रिया