अमेरिका-इरान तनाव थप चुलियो, इरानका १७० भन्दा बढी स्थानमा अमेरिकी हमला

अमेरिका-इरान तनाव थप चुलियो, इरानका १७० भन्दा बढी स्थानमा अमेरिकी हमला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव थप चुलिएको छ । इरानले अमेरिकामाथि बुशेहर परमाणु विद्युत् केन्द्र नजिक हवाई आक्रमण गरेको आरोप लगाएको छ भने त्यसको प्रतिकारस्वरूप आफूले कतार, कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डाहरूमा ड्रोन आक्रमण गरेको दाबी गरेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार इरानले बुशेहर परमाणु ऊर्जा केन्द्र नजिक बुधबार दिउँसो करिब १२ बजे अमेरिकी हवाई आक्रमण भएको दाबी गरेको छ। उक्त आक्रमणबाट भएको क्षतिबारे भने तत्काल विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

अमेरिकाले पछिल्लो २ दिनमा इरानका १७० भन्दा बढी सैन्य केन्द्रहरूमा आक्रमण गरेको बताएको छ । अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टीकम) का अनुसार आक्रमण गरिएका स्थानहरूमा एयर डिफेन्स सिस्टम, ड्रोन भण्डार र तटीय सैन्य अखडाहरू रहेका छन् ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले अमेरिकालाई होर्मुज स्ट्रेटमा दखल दिए कडा जवाफ दिने चेतावनी दिएको छ। आईआरजीसीले बहराइन र कुवेतमा रहेका अमेरिकी फिफ्थ फ्लीट मुख्यालय र अली अल-सलेम एयर बेससहित ८५ अमेरिकी सैन्य अखडामा मिसाइल र ड्रोन हमला गरेको दाबी गरेको छ।

अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले जारी गरेको विवरणअनुसार, आक्रमणका क्रममा इरानका हवाई प्रतिरक्षा प्रणाली, ड्रोन तथा मिसाइल भण्डारण केन्द्र, सैन्य स्पिडबोट तथा होर्मुज जलडमरूमध्य नजिकका तटीय क्षेत्रमा रहेका सैन्य संरचनालाई मुख्य लक्ष्य बनाइएको थियो।

यसैबीच, इरानी सेनाले पनि प्रतिआक्रमण गरेको दाबी गरेको छ। इरानका अनुसार कतार, कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अड्डामाथि ड्रोन आक्रमण गरिएको हो।

इरानी सैन्य अधिकारीहरूले कुवेतमा रहेको प्याट्रियट मिसाइल प्रतिरक्षा प्रणाली, कतारस्थित अर्ली वार्निङ स्याटेलाइट एन्टेना तथा बहराइनमा रहेको अमेरिकी सेनाको इन्धन भण्डारण ट्याङ्कीलाई निशाना बनाइएको बताएका छन्।

यद्यपि, यी आक्रमणबाट भएको क्षति तथा मानवीय हताहतीबारे अमेरिका वा सम्बन्धित खाडी मुलुकहरूले तत्काल कुनै आधिकारिक पुष्टि गरेका छैनन्।

अमेरिका र इरानबीच पछिल्ला दिनमा लगातार सैन्य कारबाही भइरहेका बेला यो घटनाले मध्यपूर्वको सुरक्षा अवस्था झन् जटिल बन्न सक्ने विश्लेषण गरिएको छ। विशेषगरी होर्मुज जलडमरूमध्य वरपर बढ्दो सैन्य गतिविधिले विश्व ऊर्जा आपूर्ति र क्षेत्रीय स्थायित्वमा समेत असर पर्ने चिन्ता बढेको छ। दुवै पक्षले एकअर्कामाथि लगातार आक्रमण गरिरहेको दाबी गरे पनि अधिकांश घटनाको स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।