इरानका पूर्वसर्वोच्च नेता खामेनीको पार्थिव शरीर समाधिस्थ

इरानका पूर्वसर्वोच्च नेता खामेनीको पार्थिव शरीर समाधिस्थ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ६ दिनको अन्तिम संस्कारका विभिन्न कार्यक्रमसहित इरानले दिवंगत सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेइको पार्थिव शरीर समाधिस्थ गरेको छ।

मृत्यु भएको चार महिनाभन्दा बढी समयपछि देशकै सबैभन्दा पवित्र शिया तीर्थस्थलमा उनको पार्थि शरीर दफन गरिएको छ । अमेरिका र इजरायलले इरानमा आक्रमण सुरु गरेकै दिन फेब्रुअरी २८ मा खामेनेइ मारिएका थिए।

सरकारी सञ्चारमाध्यमहरूका अनुसार शुक्रबार बिहान खामेनीलाई उनको जन्मस्थान मशहदस्थित इमाम रेजाको दरगाहमा दफन गरिएको हो । विशाल सुनौलो गुम्बज र सुनले बनाइएको मिनारहरूले सजिएको धार्मिक परिसर शिया मुस्लिमहरूको सबैभन्दा महत्वपूर्ण तीर्थस्थलमध्ये एक मानिन्छ ।

दफन प्रक्रिया निजी रूपमा सम्पन्न गरिएको भए पनि त्यसअघि एक सातासम्म सार्वजनिक श्रद्धाञ्जली र शवयात्राहरू आयोजना गरिएका थिए ।

ती कार्यक्रममा करिब एक करोड ५० लाखभन्दा बढी मानिस सहभागी भएको र इरानी अनुमानअनुसार भने यो संख्या तीन करोडभन्दा बढी हुन सक्ने बताइएको छ ।

तर अन्त्येष्टिका क्रममा खामेनीका छोरा तथा वर्तमान सर्वोच्च नेता मोज्तबा खामेनी भने सार्वजनिक रूपमा देखिएनन् । उनी फेब्रुअरी २८ मा तेहरानको केन्द्रमा रहेको खामेनीको निवासमा भएको अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि सार्वजनिक रूपमा नदेखिएको बताइएको छ । उक्त आक्रमणमा खामेनी मारिएका थिए । त्यसलाई अमेरिका–इजरायल तथा इरानबीचको युद्धको सुरुआतका रूपमा हेरिएको छ ।

सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम गत शनिबार तेहरानको ग्रान्ड मोसल्ला धार्मिक परिसरबाट सुरु भएको थियो । त्यहाँ खामेनीको शव राखिएको कफिन सर्वसाधारणका लागि प्रदर्शन गरिएको थियो । कार्यक्रममा गाजास्थित हमास र इस्लामिक जिहाद, लेबनानको हिजबुल्लाह तथा यमनका हुथी समूहका प्रतिनिधिमण्डल पनि सहभागी भएका थिए । भोलिपल्ट त्यही मस्जिदमा अझ ठूलो भीड जम्मा भएको थियो ।

खामेनीको कफिन ट्रकको पछाडि राखेर करिब १० किलोमिटर लामो शवयात्रा निकालिएको थियो, जुन इस्लामिक क्रान्ति (१९७९) यताकै सबैभन्दा ठूलो सार्वजनिक जमघट हुने स्थल आजादी स्क्वायरसम्म पुगेको थियो ।

बिहीबार बिहान खामेनीको शव विमानमार्फत इराकको मशहद पुर्‍याइएको थियो । कालो पोशाकमा रहेका शोकाकुलहरू इरानी झण्डा, स्वर्गीय खामेनीका तस्बिर तथा क्रान्तिकारी नारासहितका रातो प्लेकार्ड बोकेर शवयात्रामा सहभागी भएका थिए ।

यसबीच खामेनीको सम्झनामा शनिबार कुम सहरमा शोकसभा आयोजना हुँदैछ। शोकसभामा उनका छोरा तथा वर्तमान सर्वोच्च नेता मोजतबा खामेनी उपस्थित हुने जनाइएको छ ।

युद्ध सुरु भएयता सार्वजनिक मञ्चबाट टाढा रहेका मोजतबा लामो समयपछि पहिलो पटक सार्वजनिक रूपमा देखा पर्न सक्ने अनुमान गरिएको छ।