काठमाण्डु – आफ्नो भनाइ विवादमा परेपछि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले माफी मागेका छन् । साथै उनले एक वर्षसम्म कुनै पनि संचारमाध्यमलाई अन्तर्वार्ता नदिने पनि घोषणा गरेका छन् ।
केहि दिन अगाडि सोसल मिडियाका पत्रकारलाई अन्तर्वार्ता दिँदा मन्त्री पुनले ट्राफिकको नियम पालना नगर्नेलाई ५० हजार जरिवाना गर्नु पर्छ भनेर दिएको अभिव्यक्ति विवादमा परेपछि उनले माफी मागेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मन्त्री पुनले भनेका छन्, ‘केही दिनअघि सामाजिक सञ्जालका पत्रकारहरूलाई अन्तर्वार्ता दिने क्रममा गुड्ने सवारी साधन र ट्राफिक नियम उल्लंघनको प्रसंगमा ५० हजार जरिवाना गर्नुपर्छ भनी आफूले बोलेको कुरा फिर्ता लिँदै माफी मागेको छु ।’
उनले थप लेखेका छन्, ‘त्यसो गर्दा कसैलाई अज्ञानवश चोट पुगेको छ भने माफ गर्नुहोला। ट्राफिक नियमलाई अटेर गर्नेहरुले मुटुमा हात राखेर सोच्नु होला।’
उनले जरिवानाको विषयमा थप स्पष्ट पार्दै अन्तर्वार्ताकारहरूले आफूलाई सो विषयमा जानकारी नहुँदा नहुँदै पनि कोट्याई कोट्याई सोधेको र ५० हजारको प्रसंग पत्रकारहरूले नै निकालेको दाबी गरेका छन्।
‘मैले अटेर गर्नेलाई जरिवाना गर्नु पर्छ भनेको हो र ५० हजारको कुरा उनीहरुले नै निकालेको हो,’ पुनले लेखेका छन्, ‘अटेर गर्ने, अपराध गर्नेहरुलाई आवश्यक जरिवाना तथा दण्ड सजाय नगरे देश र समाज कस्तो हुन्छ ? आफैले नै कल्पना गर्नुहोस् ।’
साथै उनले अति महत्त्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक अवको एक वर्ष कुनै पनि सञ्चार माध्ययमलाई अन्तरवार्ता नदिने घोषणा गरेका छन् ।
उनले थप लेखेका छन्, ‘आजदेखि मैले कुनै पनि ठुला साना युटुवरसहित सोसल मिडियाहरू र पत्रकारहरू कसैलाई पनि अति महत्त्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक एक वर्षसम्म एक शब्द पनि अन्तर्वार्ता दिने छैन ।’





प्रतिक्रिया