सुकुम्बासी बस्ती डुबेपछि शंकर पोखरेलले लेखेः बालेनको आकर्षक प्रतिबद्धता व्यवहारमा खै ?

सुकुम्बासी बस्ती डुबेपछि शंकर पोखरेलले लेखेः बालेनको आकर्षक प्रतिबद्धता व्यवहारमा खै ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एमाले महासचिव शंकर पोखरेलले सुकुम्बासीको व्यवस्थापनमा सरकार पूर्णरुपमा चुकेको बताएका छन् ।


शनिबार सामाजिक सञ्जालमार्फत पोखरेलले उचित व्यवस्थापन नगरी सुकुम्बासीलाई घरबारविहीन बनाइएको बताएका हुन् ।


आमसञ्चार माध्यममा आएका विस्थापित नागरिकका पीडा अत्यन्त गम्भीर, हृदयविदारक र संवेदनशील रहेको उनले बताए ।


सुकुम्बासी बस्ती हटाएको सरकारले होल्डिङ सेन्टरसमेत प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्दा सुकुम्बासी पीडामा परेको पोखरेलको भनाइ छ ।

सरकारले होल्डिङ सेन्टर खाली गराउनुको साथै त्यहाँ बसेका नागरिकलाई खाना र पानी समेत बन्द गराउँदा नागरिक समस्यामा पर्नुको साथै वर्षातको समयमा होल्डिङ सेन्टर नै डुवानमा पर्दा सरकारको अमानवीय व्यवहार देखा परेको टिप्पणी उनको छ ।

सुकुम्बासीलाई हटाउनुअघि हटाउँदा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आकर्षक प्रतिबद्धता व्यक्त गरेको स्मरण गर्दै उनले व्यवहारमा नदेखिएको आरोप लगाए ।

सुकुम्बासी र अव्यवस्थित बसोबासीको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको भन्दै सरकारले आफ्ना कमजोरी सुधार गरी उनीहरूको व्यवस्थापनमा ध्यान दिनुपर्नेमा पोखरेलले जोड दिए ।

पोखरेलले नागरिकलाई त्रास र सास्तीमा नराखी सुरक्षित आवास र बाँच्न पाउने मौलिक अधिकारको सम्मान गरेर मात्रै कानुनी राज्यको मर्यादा कायम गर्न सकिने उल्लेख गरेका छन् ।

वर्षासँगै गएराति बागमती नदीको बाढी कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाट राधास्वामीस्थित सुकुम्बासी राखिएको ‘होल्डिङ सेन्टर’ डुबानमा परेको थियो ।

सुकुम्बासीका लत्ता कपडा, भाँडाकुँडा र औषधि समेत बाढीले बगाएको छ । बाढीग्रस्त क्षेत्रबाट ५४ जनालाई सुरक्षाकर्मीले उद्धार गरेका छन् ।