काठमाण्डु– नेपालका तीन ठूला सञ्चार माध्यमका कार्यालयको मुख्य गेटमा शंकास्पद गाडीहरु रोकेर राखिएको पाइएको छ ।
कान्तिपुर पब्लिकेशनको तीनकुने, हिमालय टेलिभिजनको मध्यबानेश्वर र अनलाइनखबर डटकमको बुद्धनगरस्थित कार्यालय अगाडि शंकास्पद गाडि रोखिएका हुन् ।
गाडी कसको र किन रोकिएको हो भन्नेबारे खुल्न बाँकी छ । मिडिया हाउसहरुले गाडी पार्किङ गरिएको विषयमा प्रहरीमा खबर गरिएको बताएका छन् ।
अनलाइनखबरमा गेटबाट भित्रबाहिर गर्न नमिल्ने गरी राखिएको गाडी पत्रकारले धकेलेर केही अगाडि सारेका छन् ।
‘गाडी कसको हो र किन रोकिएको हो भन्ने खुलेको छैन’, अनलाइनखबरका पत्रकार दुर्गा खनालले भने, ‘प्रहरीमा खबर गरिएको छ । अनुसन्धानपछि खुल्ला ।’
कान्तिपुर टेलिभिजनको गेटमा राखिएको गाडीका कारण कान्तिपुरका पत्रकार र कर्मचारीका गाडी भित्र जान र बाहिर निस्कन सकेका छैनन् ।
प्रहरीले पनि सञ्चार माध्यमका गेटबाहिर गाडी पार्किङ गरेर राखिएको सूचना आएको जनाएको छ ।
काठमाण्डु प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईले सम्बन्धित स्थानमा प्रहरी पठाइसकिएको जानकारी दिए ।
‘थाहा हुने बित्तिकै प्रहरी पठाइसकेका छौं’, भट्टराईले भने, ‘गाडी हटाएर अनुसन्धान हुन्छ ।’




प्रतिक्रिया