चितवन – जिल्ला प्रशासन कार्यालय चितवनले निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिङ सडकखण्डमा पहिरोको जोखिम बढेकाले अत्यावश्यकबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट सोमबार जारी सूचनामा सोमबार दिउँसोदेखि परेको लगातार वर्षाका कारण नारायणगढ–मुग्लिङ सडकखण्डका विभिन्न स्थानमा पहिरो जान सक्ने सम्भावना रहेको र त्यसले सवारी आवागमन प्रभावित हुन सक्ने उल्लेख गरिएको छ ।
प्रशासनले सडकखण्डका जोखिमयुक्त स्थानमा थप पहिरो जान सक्ने अवस्थालाई ध्यानमा राख्दै अत्यावश्यक कामबाहेक यात्रा नगर्न अनुरोध गरेको छ । यात्रा गर्नै परेमा नजिकको सुरक्षा निकाय, स्थानीय तह, डिभिजन सडक कार्यालय तथा सम्बन्धित निकायसँग सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा सुरु गर्न आग्रह गरिएको छ ।
यात्राका क्रममा आवश्यक सहयोग, समन्वय तथा सूचना आवश्यक परे नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बल नेपालको १११४, जिल्ला आपत्कालीन सञ्चालन केन्द्र (डीईओसी) को १२३४ तथा जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारीको ९८५५०१३९९९ नम्बरमा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माद्वारा जारी सूचनामा वर्षायामका कारण सम्भावित विपद्बाट सुरक्षित रहन उच्च सतर्कता अपनाउन र सम्बन्धित निकायको सूचना तथा निर्देशन पालना गर्न सबैमा आग्रह गरिएको छ ।





प्रतिक्रिया