चितवन – लगातारको भारी वर्षापछि विभिन्न स्थानमा पहिरो खसेर नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्मका लागि सबै प्रकारका सवारीसाधनको आवागमन पूर्णरूपमा रोक लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालद्वारा सोमबार साँझ जारी सूचनाअनुसार निरन्तर वर्षाका कारण सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।
त्यसपछि यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यानमा राख्दै सम्पूर्ण सवारीसाधन सञ्चालन स्थगित गरिएको छ ।
प्रशासनले काठमाण्डु उपत्यकाबाट बाहिर यात्रा नगर्न तथा रुपन्देही र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हुँदै काठमाण्डुतर्फ आउँदै गरेका यात्रुहरूलाई चितवनभन्दा अगाडि यात्रा नगर्न विशेष अनुरोध गरेको छ ।
यात्रा गर्नैपर्ने अवस्था आएमा आवश्यक सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ । यात्रा झोलामा खानेपानी, सुख्खा खानेकुरा, प्राथमिक उपचारका लागि आवश्यक औषधि, १–२ जोर कपडा तथा सम्भव भएसम्म मोबाइल चार्जर साथमा राखेर मात्र यात्रा गर्न सुझाव दिइएको छ ।
प्रशासनले आवश्यक सहयोग, समन्वय तथा जानकारीका लागि नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बल नेपालको १११४, जिल्ला आपत्कालीन सञ्चालन केन्द्र (डीईओसी) को १२३४ तथा जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारीको ९८५५०१३९९९ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले मौसम र सडकको अवस्था सामान्य भएपछि मात्रै नयाँ सूचना जारी गरिने जनाएको छ ।





प्रतिक्रिया