सभापति थापाको निवास र सञ्चार गृहबाहिर शंकास्पद गतिविधिप्रति कांग्रेसको आपत्ति

सभापति थापाको निवास र सञ्चार गृहबाहिर शंकास्पद गतिविधिप्रति कांग्रेसको आपत्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले पार्टी सभापति गगनकुमार थापाको निजी निवास, सञ्चार गृहको प्रवेशद्वार तथा व्यवसायीहरूको नियमित आवागमन हुने स्थानमा अपरिचित व्यक्तिहरूले सवारीसाधन तेर्स्याएर आवागमन अवरुद्ध गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महामन्त्री प्रदीप पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा घटनालाई स्वतन्त्र अभिव्यक्ति र लोकतान्त्रिक गतिविधिलाई त्रसित बनाउने कुत्सित मनसायबाट प्रेरित नियोजित घटनाका रूपमा लिइएको उल्लेख गरिएको छ ।

कांग्रेसले यस्तो गतिविधि लोकतान्त्रिक मूल्य–मान्यता, विधिको शासन तथा नागरिक स्वतन्त्रता माथिको गम्भीर प्रहार भएको ठहर गरेको छ । विज्ञप्तिमा आतंक सिर्जना गर्ने यस्तो शैलीको पार्टीले घोर निन्दा तथा भर्त्सना गरेको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरिएको छ ।

पार्टीले लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिक अधिकारको संरक्षणका लागि सम्पूर्ण लोकतन्त्रवादी शक्ति, सञ्चारजगत्, नागरिक समाज तथा आम नागरिकलाई यस्ता अलोकतान्त्रिक गतिविधिविरुद्ध एकजुट भएर सशक्त प्रतिवाद गर्न आह्वान पनि गरेको छ ।