गृहमन्त्री गुरुङमाथि ज्ञानबहादुर शाहीको आरोपः पानी बाँड्न गएको व्यक्तिले सत्तामा पुगेर ‘डनगिरी’ देखाए

गृहमन्त्री गुरुङमाथि ज्ञानबहादुर शाहीको आरोपः पानी बाँड्न गएको व्यक्तिले सत्तामा पुगेर ‘डनगिरी’ देखाए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले गृहमन्त्री सुधन गुरूङप्रति कटाक्ष गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले गाडी दुर्घटनामा परेर खस्दा भीरमा अड्किएका नागरिकको उद्धार माग गर्दा र मुगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणबारे आफूहरुले कुरा उठाउँदा गृहमन्त्रीले राजनीति गर्न खोजेको अभिव्यक्ति दिएकामा शाहीले आपत्ति जनाए ।

पानी वितरण गरेर र जेनजी आन्दोलनमा विद्यार्थीलाई ढाल सत्तामा पुगेका मानिसले अरुमाथि राजनीतिकरणको आरोप लगाउनु आपत्तिजनक रहेको उनको भनाइ थियो ।

जनताको उद्धार गर भन्नु राजनीतिकरण नहुने भन्दै उनले पानी बाँड्न गएको व्यक्ति राज्यसत्तामा पुग्नु चाहिं राजनीतिकरण भएको बताए ।

‘मानिसले आत्महत्या किन गर्नुपर्‍यो ? कर्णालीको भिरमा रहेका नागरिकको समयमा उद्धार हुन नपाएर किन मर्न बाध्य भए, समयमै किन हेलिकप्टर पठाइएन भनेर हामी सोध्छौं’, शाहीले भने, ‘तब गृहमन्त्रीले जवाफ दिनुहुन्छ, यसलाई राजनीतिकरण गरियो भन्नुहुन्छ । वास्तविक राजनीतिकरण के हो भने पानी बाँड्न गएको हुँ भन्ने, पोशाक लगाएका विद्यार्थीलाई ढाल बनाएर लासको सिँढी चढ्दै राज्यसत्तामा पुग्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ, भिरमा अड्केको मानिसलाई उद्धार गर भन्नु राजनीतिकरण होइन ।’


संसद भवन चाहिँदैन भनेर आगो लगाउनेहरू पछि त्यही संसदको चुनाव लड्ने गतिविधिलाई राजनीतिकरण भनिने टिप्पणी शाहीको छ ।

यस्तै आफू पदमा नहुँदा नेताका तलब घटाउनुपर्ने रअघिपछि गाडी र सुरक्षाकर्मी लिएर हिंड्न नपाइने बताउने गुरुङ आफू सत्तामा पुगेपछि भने सुरक्षाकर्मीको लावालस्कर लिएर हिंडेको घटना राजनीतिकरण भएको उल्लेख गरे ।

शाहीले सरकारले नै कार्यकर्ता लगाएर सञ्चार माध्यमका गेटमा गाडी तेस्र्याउन लगाएको आरोप लगाए ।


‘आफू पदमा नहुँदा नेताका तलब घटाउनुपर्ने र अघिपछि गाडी र सुरक्षाकर्मी राख्न हुँदैन भन्ने, आफू पदमा पुगेपछि अघिपछि सुरक्षाकर्मीको लावलस्कर घेरा लिएर हिँड्ने प्रवृत्तिलाई राजनीतिकरण भनिन्छ,’ शाहीले भने, ‘आफैं सरकारमा बस्ने, आफ्ना कार्यकर्ता लगाएर प्रतिपक्षी नेताका घरअघि र मिडियाका कार्यालयअघि पार्किङ गराउने र त्यसको भिडिओ बनाएर सर्वसाधारणले गरेको भन्नेलाई राजनीतिकरण भनिन्छ ।’


आफूले कर्णालीका भिरमा अड्केका मानिसलाई उद्धार गर भन्दा डनगिरी देखाइएको आरोप लगाए ।


शहीले भने, ‘संसदको रोस्ट्रममा उभिएर रोएको अभिनय र नाटक गर्ने प्रवृत्तिलाई राजनीतिकरण भनिन्छ ।’
शाहीले कानून सबैका लागि बराबर हुनुपर्ने माग गरे ।


ट्राफिक नियम उल्लंघनमा सर्वसाधारणलाई कारबाही हुन्छ भने सिटबेल्ट बिना गाडी चलाउने प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री गुरुङलाई पनि कारबाही हुनुपर्ने माग उनको थियो ।