माजिद अन्सारीमाथि अत्यधिक बल प्रयोग भयो, प्रहरीले माफी मागोस् : सुलभ खरेल

माजिद अन्सारीमाथि अत्यधिक बल प्रयोग भयो, प्रहरीले माफी मागोस् : सुलभ खरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुलभ खरेलले माजिद अन्सारी पक्राउ प्रकरणमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको बताउँदै सरकारसँग त्यसबारे स्पष्ट धारणा माग गरेका छन्।

सोमबार प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै खरेलले अन्सारीलाई पक्राउ गर्ने क्रममा अत्यधिक बल प्रयोग भएको र उपचार तथा क्षतिपूर्तिको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठाएका हुन्।

‘माजिद अन्सारीको हकमा उहाँलाई पक्राउ (एरेस्ट) मात्र गरिएको छैन, प्रहरीद्वारा अत्यधिक बल प्रयोग (एक्सेसिभ युज अफ फोर्स) पनि भएको छ। लुछिएको पनि छ, मुक्का हानिरहेको अवस्था पनि छ,’ उनले भने, ‘उहाँको उपचारको विषयमा कसले हो त्यो क्षतिपूर्ति हेर्ने अथवा नहेर्ने? सरकारको यस विषयमा के धारणा हो भन्ने जानकारी चाहन्छु।’

उनले प्रहरी हिरासतभित्र समेत कुटपिट हुने गरेको आफूले कानुन व्यवसायी रहँदादेखि नै सुन्दै आएको उल्लेख गर्दै मानवअधिकारको सम्मान गर्न सरकारलाई आग्रह गरे।

खरेलले आफ्नो पार्टी सभापति रवि लामिछानेमाथि राज्यले गरेको व्यवहारको प्रसंग उठाउँदै सत्ता पक्षले राज्य संयन्त्रलाई राजनीतिक रूपमा प्रयोग नगर्न चेतावनी दिए।

‘हाम्रो बाटो धेरै लामो छ। हामीले बाटो बिराउनु हुँदैन,’ उनले भने, ‘यो सरकार असफल होस् भनेर विपक्षीले पनि चाहेका छैनन्। यो सरकारलाई असफल हुने छुटै छैन।’

उनले केही दिनअघि आफू सांसदहरू मनीष झा र अफसाना बानोसहित माजिद अन्सारीलाई भेट्न गएको उल्लेख गर्दै त्यसबेला उनी हिरासतबाट छुटेको ठाने पनि पछि सामाजिक सञ्जालमार्फत अन्सारीले आफू अझै प्रहरी हिरासतमा रहेको जनाएको बताए।

खरेलले अन्सारीको उपचार, हिरासतको अवस्था र घटनाबारे सरकारको स्पष्ट जवाफ आवश्यक रहेको बताए।

‘समाजमा फरक मत सबैले राख्छन्। फरक मत राख्दैमा कसैप्रति पनि उग्र भावले प्रस्तुत नहुन म नेपाल प्रहरीलाई आग्रह गर्दछु,’ उनले भने।

उनले विगत र वर्तमानका आन्दोलनका क्रममा देखिएका प्रहरी ज्यादतीका घटनाबारे नेपाल प्रहरीले औपचारिक रूपमा माफी माग्नुपर्ने पनि माग गरे।

‘हिजोका दिनका आन्दोलन हुन् वा आजका आन्दोलन, जहाँ नेपाल प्रहरीको ज्यादतीपूर्ण व्यवहार देखिएको छ,’ उनले भने, ‘त्यसमा नेपाल प्रहरीले आफैं औपचारिक रूपमा माफी मागोस्।’