रास्वपा सांसद् परियारले भने- ज्ञानेन्द्रको सेनासँग नडराएको प्रेस सडकमा गाडी तेर्साउँदैमा तर्सिन्न

रास्वपा सांसद् परियारले भने- ज्ञानेन्द्रको सेनासँग नडराएको प्रेस सडकमा गाडी तेर्साउँदैमा तर्सिन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डु– सत्तारुढ रास्वपा सांसद् प्रकाशचन्द्र परियारले सञ्चार माध्यमका गेटमा गाडी पार्किङ गरेर पत्रकारिता क्षेत्रलाई तर्साउन खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै परियारले उक्त प्रकरणबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न र निर्वाध पत्रकारिताको वातावरण बनाउन सरकारसँग माग गरे ।

उनले सत्यसँग डराउनेले मात्र त्यस्तो हर्कत गर्ने भन्दै रास्वपा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा चट्टान झैं उभिएको दल भएको जिकिर गरे । आफूहरु सत्तामा छौं भन्दैमा कसैका स्वार्थ ठोक्किँदैमा प्रेसमाथि हुने कुनै पनि शैलीको त्रासदी र अराजकताको साक्षी बस्न नसक्ने उनको स्पष्टोक्ति थियो ।

नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेण्टी गरिएको परियारले स्मरण गरे । परियारले तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनमा बन्दुक बोकेका सेनाहरु समाचार कक्षभित्रै पसेर समाचार सेन्सर गर्दा पनि नडराएको गर्थे नेपाली सञ्चार माध्यम दुई चारवटा गाडी तेस्र्याउँदैमा नतर्सिने बताए ।

‘हिजो राजधानीमा अग्रणी सञ्चार माध्यमका मुख्य प्रवेशद्वारमै गाडीहरु पार्किङ गरेर भौतिक रुपमा आवतजावत ठप्प पारी सञ्चार गृहलाई तर्साउने जुन कुत्सित प्रयास गरियो, म यसको कडा शब्दमा भत्र्सना गर्दछु । सत्यसँग डराउनेहरुले मात्र यस्तो हर्कत गर्छन् । तर, बुझनुपर्ने कुरा के हो भने सत्यलाई ढाकछोप गर्न खोज्नु भनेको हत्केलाले सूर्य छेक्नुजस्तै हो’, उनले भने, ‘ हामीले बिर्सिएका छैनौं, यो देशमा पत्रकारिताले कति ठूलो आँधीबेहरीको सामना गरेर आजको उचाइ हासिल गरेको हो भनेर ।
इतिहास साक्षी छ । हिजो निरंकुश शाहीकालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहको सैनिक शासनमा बन्दुक बोकेका सेनाहरु समाचार कक्षभित्रै पसेर समाचार सेन्सर गर्थे । म त्यसको साथी हुँ सभामुख महोदय । त्यतिबेला नझुकेको नेपाली सञ्चार माध्यम आज सडकमा दुई चारवटा गाडी तेस्र्याएर तर्सिन्छ होला र ?’

ओखलमा टाउको हालेपछि मुसलको के डर भने झैं जस्तोसुकै संकटमा पनि निर्भिक भएर उभिएको नेपाली प्रेस जगतको इतिहास भुल्न नसकिने परियारले स्पष्ट गरे ।

‘हाम्रो दल राष्ट्रिय स्वतन्त्र पार्टी लोकतन्त्र, विधिको शासन र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा चट्टान झैं उभिएको दल हो । हामी सत्तामा छौं भन्दैमा कसैका स्वार्थहरु ठोक्किँदैमा, प्रेसमाथि हुने कुनै पनि शैलीको त्रासदी र अराजकताको साक्षी हुन नपरोस्’, उनले भने, ‘ आफू नमरी स्वर्ग देखिँदैन भने झैं लोकतन्त्रको रक्षाका लागि हामी आफैं अग्रसर भएर प्रेस स्वतन्त्रताको प्रतिरक्षा गर्न तयार नभए अरु को बोल्छ र ?’