काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रधानमन्त्री बालेन शाहविरुद्ध नाराबाजी गर्नेहरूलाई लक्षित गर्दै उनीहरूसँग विगतमा ‘बा’लाई मुर्दावाद भन्न सक्ने साहस थियो कि थिएन भन्ने प्रश्न उठाएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा गणेश नेपालीको आत्मदाह प्रकरणबारे बोल्दै उनले अहिलेको घटनालाई राजनीतिक र जातीय रंग दिइएको आरोप समेत लगाएका छन्।
‘अहिले बालेनको मुर्दावाद भन्ने क्रान्तिकारी साथी, तपाईंकै छेउमा बसेको मित्र गृहमन्त्री हुँदा ६ जना मान्छेको हत्या भएको थियो,’ उनले भने, ‘अहिले बालेनको मुर्दावाद भन्ने कमरेडले त्यतिबेला ‘बा’ को मुर्दावाद भन्न सक्ने दम थियो?’
आठ वर्षअघि रुकुमको सोतीमा ६ जनाको हत्या भएको घटना स्मरण गर्दै उनले त्यतिबेला आफूलाई प्रश्न गर्नेहरू अहिले कहाँ छन् भन्दै प्रश्न गरे।
सुनारले गणेश नेपालीलाई बचाउन आफूहरूले गृहमन्त्रीसँग समन्वय गरेर रातदिन अहोरात्र प्रयास गरे पनि सफल हुन नसकेको बताए। घटनामा संलग्नमाथि छानबिन अघि बढाएको भन्दै उनले सरकारलाई धन्यवाद पनि दिए।
‘यसमा यति धेरै राजनीतिक, धेरै जातीय रंग पोतियो। सदन र सडकमा पनि खगेन्द्र सुनार कहाँ गयो? भनेर खोजियो,’ उनले भने, ‘यो जातीय रूपमा भएको घटना मात्र होइन। मेरो घरको मान्छे, मेरो थरको मान्छे मरेको छ। त्यसको पीडा मलाई पनि छ।’
आफूमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले आफू अहिले पनि पहिलेकै अडानमा रहेको बताए।
‘यहाँ छ खगेन्द्र सुनार। यो नेल लगाएर आएको खगेन्द्र सुनार हो, बाको, दाइ–भाउजूको हातखुट्टामा तेल लगाएर आएको होइन,’ उनले भने, ‘हामी नेल लगाएर आएको एउटा विद्रोहीलाई कति बेला विद्रोह गर्नुपर्छ, कति बेला विरोध गर्नुपर्छ भन्ने कुरा बुझेर आएका छौं।’
सुनारले गणेश नेपालीको परिवारको जिम्मा सरकारले लिएको दाबी गर्दै दलित समुदायमाथि हुने हिंसा अन्त्यका लागि सबै राजनीतिक दल जिम्मेवार बन्नुपर्ने पनि बताए।




प्रतिक्रिया