सञ्चारमाध्यममा अवरोध जसले गरेको भए पनि कारबाही हुन्छ : सभापति लामिछाने

सञ्चारमाध्यममा अवरोध जसले गरेको भए पनि कारबाही हुन्छ : सभापति लामिछाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले केही सञ्चारमाध्यमका प्रवेशद्वारमा अवरोध गर्ने गरी सोमबार सवारीसाधन राख्ने जोसुकै भए पनि कारबाही हुने बताएका छन् ।

सोमबार केही सञ्चारगृह र नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको घर अगाडि प्रवेशद्वारलाई नै असर गर्ने गरी निजी नम्बर प्लेटका सवारीसाधन पार्किङ गरिएको भेटिएको थियो ।

ती सवारीसाधनलाई प्रहरीले हटाउनुका साथै जरिवाना गरेर छोडेको थियो ।

मंगलबार सिंहदरबारमा पत्रकारहरूले यसै विषयमा राखेको जिज्ञासामा सभापति लामिछानेले ती सवारीसाधन रास्वपाकै कार्यकर्ता या जसले राखेका भए पनि कारबाही हुने स्पष्ट गरेका हुन् ।

सभापति लामिछानेले सोमबारको घटनाका बारेमा पार्टीले नै विज्ञप्ति प्रकाशन गरेर रास्वपा सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहेको र सवारी अवरोध उत्पन्न गर्नेमाथि कारबाही हुने जानकारी गराइसकेको बताए ।

उनले भने, ‘घटनाका बारेमा सबैभन्दा पहिला रास्वपाले नै विज्ञप्ति निकालेर यसको विरोध गर्दै दोषीमाथि कारबाही गर्ने धारणा सार्वजनिक गरेको हो । रास्वपा त्यस्तो पार्टी हो जसले आफ्ना सांसदलाई ७२ घण्टाभित्रै कारबाही गरेको इतिहास पनि छ । त्यसैले यसमा जोसुकै एवं रास्वपाकै कार्यकर्ताको संलग्नता भए पनि कारबाही हुन्छ ।’

प्रधानमन्त्री वालेन्द्र शाह र आफूबिच हालै भएको भेटवार्ताका सम्बन्धमा राखिएको एक जिज्ञासामा सभापति लामिछानेले भेटमा सुकुमवासी समस्याको दिगो र छिटो समाधान, विकसित विविध परिस्थिति, राष्ट्रिय राजनीति र पार्टीका विविध विषयमा कुराकानी भएको बताए ।