पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डका नयाँ प्राथमिकता सार्वजनिक

पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डका नयाँ प्राथमिकता सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम कार्यान्वयनका क्रममा पुँजी बजारको विकास र लगानीकर्ता संरक्षणलाई केन्द्रमा राख्दै विभिन्न सुधारात्मक कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ ।

मंगलबार जारी गरिएको प्रेस नोटमा बोर्डले नेपालको पुँजी बजार संस्थागत विकास, डिजिटल प्रविधिको प्रयोग, लगानीकर्ताको पहुँच विस्तार र नियामकीय संरचनाको सुदृढीकरणतर्फ अघि बढिरहेको उल्लेख गर्दै अब बजारलाई थप विश्वसनीय, पारदर्शी, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउन आवश्यक सुधारहरू कार्यान्वयन गरिने जनाएको हो ।

बोर्डका अनुसार धितोपत्रसम्बन्धी कसुरको प्रारम्भिक जाँचबुझमा अन्तरनिकाय समन्वयलाई प्रभावकारी बनाइनेछ । सामाजिक सञ्जालमार्फत बजार प्रभावित पार्ने गतिविधि, अनधिकृत लगानी परामर्श, भ्रामक प्रचार, वित्तीय ठगी तथा तथाकथित वित्तीय प्रभावकर्ताबाट हुने गलत सूचना प्रवाहमाथि प्रभावकारी नियामकीय निगरानी गरिने उल्लेख गरिएको छ ।

प्राथमिक सार्वजनिक निष्कासन प्रक्रियालाई थप व्यवस्थित बनाउन सरोकारवालाबाट प्राप्त सुझाव समेटेर नीतिगत सुधार गरिने तथा कम्पनीको वित्तीय र व्यवस्थापकीय अवस्थाको वस्तुगत अध्ययनपछि मात्र निष्कासन अनुमति दिने व्यवस्था मिलाइने बोर्डले जनाएको छ ।

बोर्डले मार्जिन कारोबारसम्बन्धी निर्देशिका जारी भइसकेको उल्लेख गर्दै यसको कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्ज, सिडिएस एन्ड क्लियरिङ तथा धितोपत्र दलाल व्यवसायीसँग समन्वय गरी यथाशीघ्र सञ्चालनलाई प्रभावकारी बनाइने जनाएको छ ।

सूचीकरणपछिको धितोपत्र कारोबारमा माग र आपूर्तिबिच सन्तुलन कायम गर्न सामूहिक लगानी कोषको लकइन अवधि तथा बाँडफाँटसम्बन्धी व्यवस्थाको पुनरावलोकन गरिनेछ । लगानीकर्ताको कारोबार लागत घटाउने उद्देश्यले प्राथमिक तथा दोस्रो बजारमा लाग्ने शुल्कसमेत पुनरावलोकन गरिने बोर्डको योजना छ ।

बोर्डले हालको नेप्से सूचकांकलाई सबै इक्विटी समेट्ने सूचकांकका रूपमा कायम राख्दै स्वतन्त्र रूपमा कारोबारयोग्य सेयरको आधारमा नयाँ मापदण्ड सूचकांक विकास गर्ने तयारी पनि गरेको छ ।

प्रारम्भिक सार्वजनिक निष्कासनअघि सामाजिक सञ्जालमार्फत सर्वसाधारणबाट पुँजी संकलन गर्ने अभ्यासलाई समेत नियमनको दायरामा ल्याइने बोर्डले स्पष्ट पारेको छ ।

धितोपत्र बोर्डले आगामी दशकका लागि तयार गरिएको नेपालको पुँजी बजार विकास मार्गचित्र, २०८३ तथा आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति र कार्यान्वयन कार्ययोजना समेत चाँडै बोर्डको वेबसाइटमार्फत सार्वजनिक गरिने जनाएको छ ।

बोर्डका प्रवक्ता निरञ्जय घिमिरेद्वारा जारी प्रेस नोटमा राष्ट्रिय बचतलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्दै आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउने लक्ष्यसहित पुँजी बजार सुधारका कार्यक्रम अघि बढाइने उल्लेख गरिएको छ ।