विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो

विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजधानी काठमाण्डुको बौद्धमा रहेको खावालिङ विद्यालयमा शिक्षिकाले विद्यार्थीलाई कुटपिट गरेको घटनाप्रति शिक्षा तथा खेलकुद मन्त्रालयले चासो लिएको छ ।

विद्यालयकी शिक्षिका सोना रानाले ४ कक्षामा अध्ययनरत विद्यार्थीलाई कुटपिट गरेको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएपछि शिक्षामन्त्री सस्मित पोखरेलले घटनाका सम्बन्धमा पीडित विद्यार्थी, विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकसँग मंगलबार मन्त्रालयमा छलफल गरेका हुन् ।

मन्त्री पोखरेलले पीडित विद्यार्थीसँग छुट्टै समेत छलफल गरे । उनले विद्यार्थीलाई खेलकुद सामग्री प्रदान गर्दै अध्ययन र खेलकुदका लागि हौसला तथा प्रोत्साहन गरेका छन् ।

सो अवसरमा मन्त्री पोखरेलले विद्यार्थीलाई कुटपिटको घटनामा आवश्यक कानुनी प्रक्रिया अपनाउनुपर्ने भएको खण्डमा सहजीकरण गर्ने विश्वास व्यक्त गरे । उनले विद्यार्थीलाई मनोवैज्ञानिक असर नगर्ने गरी विद्यालयले घटनामा संलग्न शिक्षिकालाई सचेत गराउन ध्यानाकर्षण गराए । आगामी दिनमा यस्ता प्रकृतिका घटना दोहोरिन नदिन शिक्षकहरूलाई आवश्यक तालिम लगायतको व्यवस्था गर्न पनि विद्यालयलाई आग्रह गरे ।

घटना १ वर्ष पहिलाको भए पनि यस्ता किसिमका विकृति दोहोरिन नदिन मन्त्रालयले सजकता अपनाउँदै विद्यालय र पीडित पक्षसँग चासो लिएर पहलकदमी लिएको हो । खावालिङ स्कुलका प्रधानाध्यापक सुनिल रानाका अनुसार शिक्षिका रानालाई गत जेठमा नै विद्यालयबाट निष्कासन गरिएको थियो ।