टेलिकमका पूर्व प्रबन्ध निर्देशक पौडेललाई साढे २ वर्ष कैद, १२ करोडको सम्पत्ति जफत

टेलिकमका पूर्व प्रबन्ध निर्देशक पौडेललाई साढे २ वर्ष कैद, १२ करोडको सम्पत्ति जफत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई दोषी ठहर गर्दै विशेष अदालतले जेल सजाय र जरिवाना सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू हेमन्त रावल र डिलीरत्न श्रेष्ठको इजलासले पौडेललाई २ वर्ष कैद र सार्वजनिक पदमा रहेको व्यक्ति भएकाले थप ६ महिना गरी कुल २ वर्ष ६ महिना कैद सजाय सुनाएको हो ।

गैरकानुनी रूपमा आर्जन गरेको ठहर गरिएको १२ करोड ७५ लाख ७० हजार २३७ रुपैयाँ ४३ पैसा बराबरको सम्पत्ति जफत हुने र सोही बराबरको थप जरिवाना पनि तिर्नुपर्ने फैसला अदालतले गरेको छ । उनले अपराध पीडित संरक्षण ऐन बमोजिम ५१ लाख २ हजार ८०९ रुपैयाँ ४९ पैसा क्षतिपूर्ति शुल्कसमेत तिर्नुपर्नेछ ।

मुद्दामा सुनिल पौडेलका भाइ अनिल पौडेललाई पनि प्रतिवादी बनाइएको थियो । तर अनिल पौडेलको नाममा रहेका केही सम्पत्तिहरू ऋण र अंशबण्डाबाट प्राप्त भएको देखिएको र सुनिलको अवैध कमाइ त्यसमा प्रयोग भएको स्पष्ट आधार नपुगेको भन्दै उनको नाममा रहेका जग्गाजमिन जफत नगर्न अदालतले आदेश दिएको छ ।

पौडेल यसअघि पेमेन्ट गेटवे भ्रष्टाचार मुद्दामा समेत दोषी ठहर भएका थिए । पौडेलको वैध आय २ करोड २१ लाख ५७ हजार ८० रुपैयाँ ९४ पैसा भएको अवधिमा उनको खर्च तथा लगानी १४ करोड ९७ लाख २७ हजार ३१८ रुपैयाँ ३८ पैसा भएको पाइएको थियो । उनको वैध आय र कुल खर्चबिचको अन्तर १२ करोड ७५ लाख ७० हजार २३७ रुपैयाँ ४३ पैसाको वैधानिक स्रोत नखुलेका गैरकानुनी आर्जन ठहर गरिएको छ ।