सांसद खड्का र इजरायलका राजदूतबीच भेटवार्ता

सांसद खड्का र इजरायलका राजदूतबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधि सभा सदस्य सुशील खड्का र नेपालका लागि इजरायलका राजदूत शमुलिक एरी बासबीच भेटवार्ता भएको छ।

भेटवार्तामा नेपाल र इजरायलबीच सन् १९६० जुन १ मा दक्षिण एशियामै पहिलो राष्ट्रका रूपमा नेपालले स्थापना गरेको मैत्रीपूर्ण कूटनीतिक तथा द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य तथा भविष्यमा सहयोग विस्तार गर्न सकिने सम्भावित क्षेत्रहरूबारे विस्तृत छलफल भएको थियो।

नेपालबाट केयरगिभिङ क्षेत्रमा इजरायलमा रोजगारीका लागि जाने नेपाली कामदारहरूको विषयमा तथा सञ्चालन भएको कृषि क्षेत्रको कार्यक्रमको बारेमा समेत छलफल भएको थियो।

साथै, इजरायलबाट सीप र अनुभव हासिल गरी नेपाल फर्केर कृषि क्षेत्रमा उद्यम गर्दै आएका युवाहरूको योगदान तथा त्यस्ता अनुभवलाई नेपालको कृषि विकासमा उपयोग गर्ने विषयमा पनि छलफल भएको थियो।

विशेषगरी इजरायलले नेपालमा कृषि, प्रविधि, क्षमता विकास तथा मानव स्रोत विकासका क्षेत्रमा पुर्‍याउँदै आएको सहयोगको समीक्षा गर्दै आगामी दिनमा सहकार्यलाई अझ विस्तार गर्ने विषयमा विचार आदान–प्रदान गरिएको थियो। त्यसैगरी, इजरायलको आधुनिक कृषि प्रविधि, नवप्रवर्तन तथा उत्पादन प्रणालीबाट नेपालले लिन सक्ने अनुभव र प्रविधि हस्तान्तरणमार्फत नेपाली कृषि क्षेत्रलाई थप उत्पादनशील र प्रतिस्पर्धी बनाउन सकिने विषयमा समेत विशेष छलफल भएको थियो।

भेटवार्तामा नेपाल–इजरायलबीच राजनीतिक, आर्थिक तथा व्यापार सम्बन्ध विस्तार लगायत नेपालबाट कृषि तथा अन्य सम्भावित उत्पादनहरूको निर्यात प्रवर्द्धनलाई थप सुदृढ बनाउने विषयमा समेत विचार आदान–प्रदान गरिएको थियो।

भेटघाटमा सङ्घीय संसद् सचिवालय तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।