राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपिनकुमार आचार्यले प्रतिनिधिसभाले आफ्नै कार्यसम्पादनको समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारका लागि १०० दिन पुगेपछि कार्यसम्पादन मूल्यांकन गर्ने अभ्यास भए पनि संसद्को प्रभावकारिताबारे भने त्यस्तो समीक्षा हुने परम्परा नदेखिएको टिप्पणी गरे।
उनले संसद् सुरु भएयता सांसदहरूको उपस्थिति, विधेयकमाथि दर्ता भएका संशोधनले कानुन निर्माणमा पारेको प्रभाव, संसदीय समितिहरूको कार्यसम्पादन, शून्य, विशेष तथा आकस्मिक समयमा उठाइएका विषयको कार्यान्वयन, सांसदहरूको भूमिकालगायत पक्षको समग्र मूल्यांकन गर्नुपर्ने बताए।
‘प्रतिनिधिसभा नियमावलीको पालना सत्तापक्ष, सरकार र प्रतिपक्षबाट कत्तिको भएको छ, नियम उल्लंघनका घटनामा संसद्ले कस्तो प्रतिक्रिया जनाएको छ,’ उनले भने, ‘संसद्को गरिमा र प्रभावकारिता बढिरहेको छ वा घटिरहेको छ भन्ने विषयमा पनि गम्भीर समीक्षा आवश्यक छ।’
उनका अनुसार संसद् नागरिकका अपेक्षा सम्बोधन गर्ने र निराशालाई आशामा रूपान्तरण गर्ने प्रमुख लोकतान्त्रिक संस्था भएकाले यसको कार्यक्षमता निरन्तर मूल्यांकन हुनुपर्छ।
अन्त्यमा उनले प्रतिनिधिसभा सही दिशामा अघि बढिरहेको छ वा छैन भन्ने विषयमा व्यापक समीक्षा प्रक्रिया अघि बढाउन सभामुखसँग आग्रह गरे।




प्रतिक्रिया