काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता कमल थापाले प्रदेश सरकार परिवर्तनको पछिल्लो राजनीतिक गतिविधिको आलोचना गर्दै प्रदेश संरचना नै खारेज गर्न वा प्रदेशसभा विघटन गरेर नयाँ निर्वाचनमा जानुपर्ने धारणा व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबूकमार्फत धारणा सार्वजनिक गर्दै नेता थापाले विभिन्न प्रदेशमा फेरि सरकार परिवर्तनको प्रक्रिया सुरु भएको उल्लेख गर्दै संघीयताका नाममा स्थापना गरिएको प्रदेश संरचना अस्थिरता, अराजकता र भ्रष्टाचारको केन्द्र बनेको आरोप लगाए ।
उनले हालको प्रदेश संरचनाले आफ्नो औचित्य पुष्टि गर्न नसकेको दाबी गर्दै सम्भव भए तत्काल संविधान संशोधन गरेर प्रदेश संरचना खारेज गर्नुपर्ने बताए ।
यदि तत्काल संविधान संशोधन सम्भव नभए भदौ २३–२४ गतेको युवा आन्दोलन र फागुन २१ गतेको निर्वाचनपछि जनविश्वास गुमाइसकेको भन्दै वर्तमान प्रदेशसभा विघटन गरी स्थानीय तहको निर्वाचनसँगै प्रदेशसभाको पनि नयाँ निर्वाचन गराउनुपर्ने उनको माग छ ।
थापाले यस विषयमा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने तथा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
उनले प्रदेश संरचना खारेज गर्ने विषय वर्तमान सत्तारूढ रास्वपाको समेत प्रमुख एजेन्डा रहेको दाबी गर्दै त्यसतर्फ आवश्यक राजनीतिक पहल गर्न आग्रह गरेका छन् ।




प्रतिक्रिया