दुबई – दुबईको जनरल डाइरेक्टोरेट अफ आइडेन्टिटी एन्ड फरेनर्स अफेयर्स (जीडीआरएफए) ले संयुक्त अरब इमिरेट्स (यूएई) को ५ वर्षे पर्यटक भिसाका लागि आवश्यक मापदण्ड स्पष्ट गरेको छ ।
भिसा प्राप्त गरेपछि कुनै प्रायोजक वा होस्टको आवश्यकता विना विश्वका सबै देशका नागरिकले यूएईमा पटक–पटक प्रवेश गर्न सक्नेछन् ।
जीडीआरएफएका अनुसार स्वप्रायोजित भिसाको अवधि ५ वर्ष रहनेछ । भिसाबाहकले भिसा अवधिभर आवश्यकताअनुसार यूएईमा प्रवेश र बाहिरिन सक्नेछन् । प्रत्येक भ्रमणमा अधिकतम ९० दिन बस्न पाइनेछ भने आवश्यक परे थप ९० दिनका लागि बसाइ अवधि बढाउन सकिनेछ । तर १ वर्षभित्र यूएईमा बिताएको कुल अवधि १८० दिनभन्दा बढी हुन नहुने व्यवस्था गरिएको छ ।
लागू भएको दीर्घकालीन भिसा विशेषगरी पर्यटक, बारम्बार यात्रा गर्ने व्यक्ति, परिवार भेट्न जाने आगन्तुक तथा व्यावसायिक प्रयोजनले नियमित रूपमा यूएई जाने यात्रुहरूलाई लक्षित गरी ल्याइएको छ । यसमा साधारण पर्यटक भिसाभन्दा बढी लचकता प्रदान गर्ने जीडीआरएफएले जनाएको छ ।
भिसाका लागि आवेदन दिन इच्छुक व्यक्तिले कम्तीमा ६ महिनासम्म वैध रहने राहदानी, हालसालै खिचिएको व्यक्तिगत फोटो, वैध स्वास्थ्य बिमा, आवतजावतको टिकट तथा पछिल्ला ६ महिनाको बैंक विवरण पेश गर्नुपर्नेछ । आवेदन दिनुअघि पछिल्ला ६ महिनामा कम्तीमा ४ हजार अमेरिकी डलर वा सो बराबर रकम बैंक खातामा रहेको प्रमाण देखाउनुपर्ने व्यवस्था छ ।
आवेदन फाराम भर्ने, आवश्यक कागजात अपलोड गर्ने र तोकिएको शुल्क तिर्ने प्रक्रिया पूरा गरेपछि भिसा आवेदन दर्ता हुनेछ । जीडीआरएफएका अनुसार भिसा शुल्क, सेवा शुल्क र फिर्ता हुने वित्तीय ग्यारेन्टीसहित कुल आवेदन लागत करिब ३ हजार ७१३ दिरहाम रहनेछ । व्यक्तिगत अवस्था र थप आवश्यकताअनुसार अन्तिम शुल्क फरक पर्न सक्ने बताइएको छ ।
यूएई सरकारले ५ वर्षे बहुप्रवेश पर्यटक भिसाले दुबईलाई विश्वव्यापी आकर्षक गन्तव्यका रूपमा थप सुदृढ बनाउने, पर्यटकको अनुभव सुधार गर्ने तथा पर्यटन, यात्रा र आतिथ्य क्षेत्रको दीर्घकालीन वृद्धिमा योगदान पुर्याउने अपेक्षा गरेको छ ।




प्रतिक्रिया